दुईदिने आँखा स्वास्थ्य शिविर सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २१ । ताप्लेजुङको दोभान बजारमा सोमवारबाट दुईदिने निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविरको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले उद्घाटन गर्नु भएको छ । शिविर उद्घााटन कार्यक्रमलाई सम्बोधन गर्दै हाङगामले नागरिककै घरदैलोमा पुगेर शल्यकृया सहितको आँखा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको अगुवाई गरेकोमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङप्रति आभार प्रकट गर्नु भएको छ । आँखा स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाई नागरिकलाई लाभ पु¥याउने कुरामा पालिकाले नेत्रज्योति संघसंग सहकार्य गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर अधिकारी,पालिकाको वडा नं ३ का वडाध्यक्ष गजेन्द्र लिम्बू,वडा नं ६ का वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे,नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङसहितको उपस्थिति रहेको थियो ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाका उपसभापति खगेन्द्र अधिकारीका अनुसार दुईदिने शिविरमा मेची आँखा अस्पतालका डाक्टर बिनिता थापाको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले आँखाको उपचार तथा परीक्षण गर्ने छ । मेची आँखा अस्पतालका कार्यक्रम व्यवस्थापक कविता कडरियाका अनुसार नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र मेची आँखा अस्पतालकाबिचमा दोभान र फुङलिङमा आँखा स्वास्थ्य शिविर सञ्चालनका लागि सहकार्य भएको छ ।
दोभानमा सोमवार र मंगलवार शिविर सकिएपछि फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्रांगणमा बैशाख २४,२५ र २६ गते तीनदिन शल्यकृया सहितको आँखा स्वास्थ्य शिविर सञ्चालन हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीले जानकारी दिनुभयो ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार फुङलिङमा हुने आँखा स्वास्थ्य शिविरमा समेत मेची आँखा अस्पतालकै प्राविधिक सहयोग रहने छ । शिविरमा सेवा फाउण्डेसन काठमाडौं समेतको सहयोग गरेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।