सूचना प्रविधिको सहि सदुपयोग बारे सामाजिक जागरण फैलाउँदै मनाइयो सूचना तथा सञ्चार प्रविधि दिवस
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १९ । सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिवार सूचना प्रविधिको सहि उपयोग सम्वन्धी अभिमुखीकरण सम्पन्न भएको छ । दुईदिने अभिमुखीकरण शनिवार सकिएको हो ।
फुङलिङ नगरपालिकाको सहयोगमा कम्प्युटर एशोसिएन महासंघ नेपाल(क्यान)ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा युवा पुस्ताका करिव ७० जना सहभागी भएको क्यान ताप्लेजुङका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले साइवर सुरक्षा र साइवर सुरक्षा सर्तकर्ताका विभिन्न उपायहरुका बारेमा जानकारी हाँसिल भएको बताउनुभयो । सूचना तथा सञ्चार प्रविधि दिवस तथा सूचना प्रविधिको सहि उपयोग सम्वन्धी अभिमुखीकरण समापन कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरप्रमुख अमिर मादेनले सूचना प्रविधिको सहि उपयोगको तरिका जानेमा फाइदा र यसको गलत उपयोगले हुने हानी बारे समाजका हरेक सदस्य जानकार हुनुपर्ने बताउनुभयो । त्यही उद्देश्यका साथ नगरपालिकाले क्यान महासंघ संगको साझेदारीका अभिभुखीकरण कार्यक्रम सञ्चालन गरेको मादेनले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सूचना प्रविधिले विश्वलाई नजिक बनाएको स्मरण गर्दै यसको सहि उपयोग गर्न नजान्दा यसबाट उत्पन्न हुने जोखिम थामी नसक्नु हुने भएकोले सहि प्रयोगका तरिका बारे जानकारी हाँसिल हुनु अनिवार्य हुने बताउनुभयो । फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले अहिलेको पुस्ता सूचना प्रविधिको पहुँच भन्दा टाढा रहन नसक्ने उल्लेख गर्दै अभिमुखीकरणबाट प्राप्त सीप समाजका हरेक सदस्यमा प्रवाह गर्न सहभागीलाई आग्रह गर्नुभयो । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले सूचना प्रविधिको बढ्दो प्रयोग र यसको गलत उपयोगले हुने हानीबारे जानकारी गराएर क्यान महासंघले युवा पुस्तालाई सूचना र प्रविधिको उपयोगिता झल्काएको बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सूचना प्रविधि अहिलेको अनिवार्य आवश्यकता भएको बताउँदै यसको सहि प्रयोगले मात्र प्रयोगकर्तालाई फाइदा पुग्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्यान महासंघ कोशी प्रदेश समिति सदस्य बिष्णुकुमार हाङवाङ लिम्बू,क्यान महासंघ ताप्लेजुङका संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठ,पूर्व अध्यक्ष राजकुमार गुरुङ सहितको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण क्यान महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष गुरुङले गर्नु भएको थियो । अभिमुखीकरण कार्यक्रममा सूचना प्रविधि,सूचना प्रविधिको सहि उपयोग,यसको दुरुपयोगबाट हुने हानी र जोखिम, एआई अथवा कृत्रिम बुद्धिमत्ता र यसको प्रयोगका बारेमा जानकारी गराईएको थियो ।
एआई भन्नाले मानिसको जस्तै सोच्ने,निर्णय गर्ने, समस्या समाधान गर्ने तथा भाषा बुझ्ने र संवाद गर्ने क्षमता कम्प्युटर वा मेशिनमा विकास गरिने प्रविधिलाई जनाउँछ । यसको सहि सदुपयोगबाट हुने फाइदा र यसको गलत उपयोगबाट हुने जोखिमबारे समेत सहभागीलाई अनुशिक्षित गरिएको क्यान महासंघ ताप्लेजुङका कोषाध्यक्ष पुण्यप्रसाद आचार्यले बताउनुभयो । एआईले आफ्नो परिवेशबाट जानकारी लिएर तथा यसले के सिक्छ वा महसुस गर्छ,त्यसको आधारमा मानवको कार्यलाई सहज र सरल बनाउँछ ।