मैवाखोलाले यसै महिना भित्र सार्वजनिक–निजी साझेदारी मोडलको विधयेक अन्तिम रुपमा दिई कार्यान्वयनमा ल्याउने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १३ । पूर्वाधार संरचना तथा सेवा क्षेत्रका कुनैपनि परियोजना सार्वजनिक–निजी साझेदारी प्रणालीबाट सुरु गर्ने योजना बनाइरहेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले यसै महिनाभित्र उक्त मोडलको विधयेक सार्वजनिक गर्ने भएको छ ।
पालिका क्षेत्रभित्र स्थानीय प्राकृतिक श्रोतको उपयोग गर्दै स्वदेशी तथा विदेशी निजी क्षेत्र समेतको लगानीका माध्यमबाट नवीन प्रविधि,गुणस्तरीय सेवा,व्यवस्थापकीय कुशलता एवम् लगानीमैत्री वातावरण निर्माण गर्न पालिकाले सार्वजनिक–निजी साझेदारी प्रणाली अघि सारेको हो । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार जलस्रोत,पर्यटन र पूर्वाधार सहितका सेवा क्षेत्रमा सार्वजनिक–निजी साझेदारी प्रणाली उपयोग गरिने छ ।‘सम्भावनाका प्राथमिक क्षेत्र पहिचान गरी स्थानीय समुदायले बढी लाभ लिने प्रकृतिका योजनालाई सार्वजनिक–निजी साझेदारी प्रणालीमार्फत पूरा गर्ने लक्ष्य सहित पालिकाले योजना बनाइरहेको छ’पालिका अध्यक्ष वनेमले उज्यालो पोष्टसंग भन्नुभयो । उहाँले स्थानीय समुदायको आवश्यकताको प्राथमिकीरण गरी सार्वजनिक–निजी साझेदारी प्रणालीमार्फत ति आवश्यकताको सम्वोधन गर्नेगरि सार्वजनिक–निजी साझेदारी प्रणालीको उपयोग गरिने जानकारी दिनुभयो ।
गाउँपालिकाको अगुवाई र साभेदारीमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागितामार्फत समुदायको आवश्यकताको सम्बोधन र समुदायले बढी लाभ लिने योजना सार्वजनिक–निजी साझेदारी प्रणालीमार्फत पूरा गर्ने पालिकाको लक्ष्य रहेको पालिका अध्यक्ष वनेमले बताउनुभयो । गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउन,सार्वजनिक–निजी साझेदारीमा निर्माण हुने परियोजनालाई व्यवस्थित गर्न तथा लगानी सम्वन्धी कानुनी व्यवस्थालाई स्पष्ट गर्न उपयुक्त देखेको भन्दै पालिकाले सार्वजनिक–निजी साझेदारी प्रणालीको मस्यौदा गत पुस महिनामै सार्वजनिक गरी उक्त मोडलका बारेमा पालिकाले आम सरोकारवालाको राय सुझाव समेत माग गरेको थियो ।‘प्राप्त सुझाव समेत समेटेर पालिकाले विधयेकलाई अन्तिम रुप दिई राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको छ’पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
प्रस्तावित विधयेक अनुसार निर्माण तथा हस्तान्तरण,निर्माण सञ्चालन तथा हस्तान्तरण,निर्माण,स्वामित्वकरण सञ्चालन,लिज सञ्चालन तथा हस्तान्तरण सहितका १० वटा क्षेत्रका माध्यमबाट सार्वजनिक–निजी साझेदारी प्रणालीका परियोजना सञ्चालन गर्न सकिने छ । प्रस्तावित विधयेकले मौजुदा संरचनाको मर्मत,बिस्तार वा पुर्ननिर्माण गर्ने कार्यलाई पुर्नस्थापनाको रुपमा औंल्याएको छ । पूर्वाधारको रुपमा अस्पताल,केवलकार,बसपार्क,प्रर्दशनीस्थल,पार्क,सञ्चार तथा सूचना प्रविधि,स्थानीय मझौला उद्योग,कृषि,शिक्षा,होटल र रेष्टुरेन्टलाई परिभाषित गरिएको छ । यस्तै पर्यटन क्षेत्र अन्तरगत होमस्टे,सवारी पार्किङ,जलाशय,फोहोरमैला प्रशोधन तथा व्यवस्थापन सहितलाई लगानीका सम्भावित क्षेत्रको रुपमा औंल्याईएको छ ।
लगानीका सम्भावित क्षेत्रहरुमा ढुङ्गा,गिटी,वालुवा उत्खनन्,संकलन तथा प्रशोधन(क्रसर उद्योग),वन पैदावार संकलन तथा प्रशोधन,उर्जा उत्पादन,प्रसारण तथा वितरण,रंगशाला,सार्वजनिक सभागृह,बहुउद्देश्यीय भवन(मेघा हल),सार्वजनिक गोदाम घर र शीत भण्डार(कोल्ड स्टोर)सहितका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी प्रणाली अवलम्बन गर्न सकिने पालिकाले तयार पारेको प्रस्ताविक विधयेकमा उल्लेख गरिएको छ । केहि समय अघि तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका डिभिजन इञ्जिनियर सिंहबहादुर बिष्टले स्थानीय स्तरमै गुणस्तरीय नदी तथा खोलाजन्य पदार्थ(ढुङगा,गिटी र बालुवा)को उपलब्धता हुन नसक्दा यो क्षेत्रका अधिकाँस पूर्वाधारका कार्य महँगो हुन पुगेको तथा धेरै टाढाबाट उक्त सामाग्री आयात गर्दा अनावश्यक समय समेत खर्च हुने गरेको भन्दै नदी तथा खोलाजन्य पदार्थको खोजीका लागि पालिकाले अग्रसरता देखाउन आवश्यक रहेको बताउनु भएको थियो ।