दोभान र फुङलिङमा आँखा शिविर सञ्चालन हुँदै
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १३ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ र दोभानमा शल्यक्रिया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङका अनुुसार दोभान आँखा उपचार केन्द्रमा बैशाख २१ र २२ गते दुईदिन तथा फुङलिङमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा बैशाख २४,२५ र २६ गते तीनदिन आँखा स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिएको छ । दोभान बजारमा सञ्चालन हुने शिविरमा मेरिङदेन गाउँपालिकाको मुख्य साझेदारी रहने छ भने सेवा क्षेत्रका अन्य स्थानीय तह र सरोकारवालासंग साझेदारीका लागि प्रस्ताव गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ । फुङलिङमा हुने शिविरका लागि फुङलिङ नगरपालिकासंग साझेदारीका लागि प्रस्ताव गरिएको नेत्रज्योति संघले जनाएको छ ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार शिविर सञ्चालनको क्रममा प्राविधिक सहयोगका लागि मेची आँखा अस्पताल बिर्तामोडलाई अनुरोध गरिएको छ । सेवा फाउण्डेसन काठमाडौं समेतको सहयोगमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले माग र आवश्यकता अनुसार शल्यक्रिया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा पाँचथरको कुम्मायकस्थित यासोक बजार र याङवरकस्थित थर्पु बजारमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । यासोक र थर्पु बजारमा समेत सम्वन्धित स्थानीय तहसंगको समन्वयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने गरेका नेपाल नेत्रज्योति संघले जनाएको छ ।