पाथीभराका तीर्थालुका लागि सवारी साधनको व्यवस्थापनमा बिशेष चासो,डिएसपी गौतम ट्राफिक प्रहरीसंगै अग्रसर

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २९ । पाथीभराबाट फर्कने तीर्थालुलाई काफ्लेपाटीबाट फुङलिङ फर्किनका लागि सवारीको अभाव हुन नदिन ताप्लेजुङ जिल्लाका प्रहरी(डिएसपी)बेदप्रसाद गौतम सवारी व्यवस्थापनको सहजीकरणका लागि अग्रसर हुनु भएको छ । गौतमले यातायात व्यवसायी समेतको सहजीकरणमा आइतवार अपरान्हबाट नेपाल प्रहरी र ट्राफिक प्रहरी समेतलाई यसका लागि खटाउनु भएको छ ।

‘हामीले फुङलिङबाट मन्दिरतर्फ जाने सवारीलाई यात्रु भर्दै चाँडो गन्तब्यतर्फ लाग्न आग्रह गरिरहेका छौं’सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी र यातायात व्यवसायीसंगै ट्याक्सीलाइनमा आइतवार अपरान्ह भेटिनु भएका डिएसपी गौतमले भन्नुभयो । फुङलिङबाट यात्रु भरेर गएका सवारीले काफ्लेपाटीमा यात्रु झारी त्यहाँबाट तीर्थालु सहितका यात्रु बोकेर फुङलिङतर्फ नियमित आउने गर्छन् । यात्रु बढी र सवारी कम भएपछि सुकेटारमा रहेका ट्याक्सी समेतलाई काफ्लेपाटीतर्फ पठाउन ट्राफिक प्रहरीलाई सुकेटारमा समेत खटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख(असई)सुरेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार यात्रुहरुको सहजताका लागि हेलिप्याड,तोक्मेडाँडा,ट्याक्सी लाइन र सुकेटारमा ट्राफिक प्रहरी परिचालित गरिएको छ । जिल्ला प्रहरी प्रमुख गौतमका अनुसार सवारीमा यात्रु भरिनासाथ बिला अलमल काफ्लेपाटीतर्फ पठाउने कार्यको सहजीकरण भइरहेको छ ।

यातायात व्यवसायी समेत रहनु भएका सामाजिक अगुवा महेन्द्र भट्टराईका अनुसार शनिवार मन्दिर पुगेर काफ्लेपाटीसम्म आएका तीर्थालुलाई फुङलिङसम्म ल्याई पु-याउनआइतवार बिहानको १ बजेसम्म सवारीको ओहोरदोहोर गराउनु परेको थियो । फुङलिङबाट यात्रु लिएर काफ्लेपाटी पुगेका सवारीलाई त्यहाँबाट सवारीमा यात्रु भर्दै फुङलिङ पठाउन स्थानीयबासी,यातायात व्यवसायी,काफ्लेपार्टीमा रहेको पर्यटक प्रहरी समेतलाई परिचालित गरिएको डिएसपी गौतमले बताउनुभयो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले तीर्थालुलाई सवारी आवागमनमा असहजता नहोस् भनेर यहाँ रहेका सबै सवारीलाई सम्भव भएसम्म पाथीभरा क्षेत्र केन्द्रित गर्नेगरी सबैपक्षबाट पहल भइरहेको बताउनुभयो । हाङवाङका अनुसार आइतवार १ हजार ६ सय ५९ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । शनिवार पाथीभरा मन्दिरमा यो बर्षकै सबैभन्दा बढी ७ हजार २२ जना तीर्थालु मन्दिर पुगेका थिए ।

Similar Posts