६७ बर्षदेखि निरन्तर लाग्दै आएको मदन मेला बैशाख ५ बाट,फुटबल,भलिबल,नृत्य देखि कविता गोष्ठीसम्म हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३० । २०१५ साल देखि लगातार तेह्रथुमको आठराई संक्रान्तिको लाग्दै आएको ऐतिहासिक मदन मेलाको अवसरमा यही बैशाख ५ गते देखि पुरुष तथा महिला फुटबल सहितका विविध कार्यक्रम हुने भएका छन् ।

आठराई मदन मेला २०८३ का व्यवस्थापन समिति अध्यक्ष टाँसी लामाका अनुसार पुरुष तथा महिला फुटबलका साथ पुरुष भलिबल,ब्याट मिन्टन,बुद्धिचाल,आमन्त्रित धान नाच,लोक दोहोरी,आमन्त्रित नृत्य प्रतियोगिता र कविता गोष्ठी समेत हुने भएका छन् । मदन मेला व्यवस्थापन समितिका सचिव युवराज इङनामका अनुसार नगद ३ लाख १ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउँदा उपबिजेताले नगद १ लाख ७५ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएको छ । महिला फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ तथा उपबिजेता हुनेलाई ५५ हजार ५५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । पुरुष भलिबल प्रतियोगिताका बिजेतालाई नगद १ लाख ११ हजार १११ रुपैयाँ तथा उपबिजेता हुनेलाई ५५ हजार ५५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

मेलाकै अवसरमा ‘बी’लेभलको खुल्ला ब्याट मिन्टन युगल तथा आठराई गाउँपालिका भित्रका खेलाडी मात्र सहभागी हुन पाउने आन्तरिक ब्याट मिन्टन प्रतियोगिता समेत हुने भएको छ । ‘बी’लेभलको खुल्ला ब्याट मिन्टन युगल प्रतियोगिताका बिजेताले नगद ३५ हजार,उपबिजेताले नगद २५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै आठराई गाउँपालिका भित्रका खेलाडी मात्र सहभागी हुन पाउने आन्तरिक ब्याट मिन्टन प्रतियोगिताका बिजेताले १५ हजार,उपबिजेताले १० हजार र तृतीय हुनेले ८ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।

आमन्त्रित धान नाच प्रतियोगितातर्फ प्रथम हुनेले २५ हजार,दोस्रो हुनेले १५ हजार,तेस्रो हुनेले १० हजार र सहभागी सबैले ५ हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने भएका छन् । आमन्त्रित नृत्य प्रतियोगिताका बिजेताले नगद २० हजार,उपबिजेताले १५ हजार,तृतीय हुनेले १० हजार र सहभागी सबैले नगद ३ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउने भएका छन् । कविता गोष्ठीतर्फ प्रथम हुनेलाई नगद ३ हजार,द्धितीय हुनेलाई नगद २ हजार र तृतीय हुनेलाई नगद १ हजार रुपैयाँका साथ प्रमाणपत्र दिइने भएको छ । लोक दोहोरीतर्फ प्रथम हुनेले १० हजार,द्धितीय हुनेले ८ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र पाउने भएका छन् ।

संक्रान्ति बजारस्थित त्रिमोहन माविको खेल मैदानमा हुने मेला बैशाख ५ गते देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । मेलाकै अवसरमा बैशाख ९ गते साँझ राष्ट्रिय तथा स्थानीय कलाकारको वृहत्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । ‘खेलकुद क्षेत्रमा युवाको सहभागिता,अनुशासन,विकास र गतिशिलता’नारा दिएर मेला आयोजना गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

Similar Posts