इन्धन र निर्माण सामग्री सहितको मुल्य बृद्धिले ताप्लेजुङका निर्माण उद्योगमा ‘आपतकाल’को घोषणा,सारिए दुई विकल्प

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २८ । इन्धन सहित निर्माण सामग्रीको अत्यधिक मुल्य बृद्धिका कारण निर्माण उद्योगमा ‘आपतकाल’घोषणा गर्दै ताप्लेजुङका निर्माण व्यवसायीले बिद्यमान समस्या समाधानका लागि सरकार सामु दुई विकल्प अघि सारेका छन् ।

निर्माण व्यवसायी संघ ताप्लेजुङले शनिवार पत्रकार सम्मेलनमार्फत निर्माण व्यवसायी महासंघकातर्फबाट सरकार समक्ष प्रस्तुत भएका सुझाव र विकल्पको उचित सुनुवाईका लागि नेपाल सरकार उदासिन भएको दुःखेसो समेत पोखेका छन् । निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ लिम्बूका अनुसार निर्माण उद्योगका देखा परेको बिद्यमान असहज परिस्थतिको सहज समाधानका दुई विकल्प छन् । तिमध्ये पहिलो विकल्प भनेको सम्झौता भएका तर काम पूरा नभएका निर्माण योजनाका लागि हालसालै इन्धन सहित निर्माण सामग्रीमा भएको मुल्य बृद्धि अनुसार योजनाको कुल लागतमा संशोधन गरी मुल्य बृद्धि थेग्न सक्ने अवस्था बनाउनु हो । चेम्जोङका अनुसार दोस्रो विकल्पको रुपमा मुलुकभर ‘कन्ट्रक्सन होलिडे’निर्माण बिदा हो । उल्लेखित दुई विकल्पको उचित सम्बोधन गर्न सरकार तयार नहुने हो भने निर्माण उद्योग ठप्प हुने चेम्जोङको बुझाई छ । निर्माण व्यवसायी संघ ताप्लेजुङका महासचिव युगराज गुरुङका अनुसार अहिले ताप्लेजुङ निर्माण व्यवसायी संघमा २ सय १४ व्यवसायी आवद्ध छन् । निर्माण व्यवसायीहरु संघमा आबद्ध हुनैपर्ने बाध्यता नरहेकोले समेत उहाँले बताउनुभयो । स्थानीय तहमा समेत वर्ग अनुसार निर्माण व्यवसायीको इजाजत लिन पाउने व्यवस्था रहेकोले ताप्लेजुङमा निर्माण व्यवसायीको संख्या भने एकिन हुने अवस्ता नरहेको गुरुङले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी संघले निर्माण उद्योगमा प्रयोग हुने डिजेल,पेट्रो,मट्टितेल तथा निर्माण कार्यमा ब्यापक प्रयोग हुने बिटुमिन,सिमेन्ट र रड देखि बालुवा र गिट्टी समेतको अभावका कारण निर्माण हुने उद्योग ठप्प हुँदै गएको जनाएको छ ।‘आफुहरुले अघि सारेका विकल्प सुन्न सरकार तयार नभए निर्माण उद्योग ठप्प हुने निश्चित छ’निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष चेम्जोङले भन्नुभयो । संघले प्रत्येक निर्माण योजनामा मुल्य बृद्धि भए अनुरुप हालको कानुनी व्यवस्थाबाट मुल्य समायोजन हुन नसक्ने भएकोले मुल्य समायोजनको मार्ग निर्देशन–२ तत्काल जारी गर्न समेत माग गरेको छ । संघले सबै अवधिका ठेक्काको हकमा मुल्य समायोजको व्यवस्था गरी मुल्य बृद्धिको समस्याबाट पीडित सबै तहका निर्माण व्यवसायीका समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकृष्ट समेत गरेको छ ।

Similar Posts