एसईईमा उत्कृष्ट अंक ल्याउने तीनजनालाई सिरिजङ्गाले दियो उच्च शिक्षा छात्रबृत्ति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा २०८१ मा पालिकाका सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने तीनजनालाई प्रविणता प्रमाणपत्र तहको अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार उत्कृष्ट अंक ल्याउने एक जना छात्र,एक छात्रा र एक विपन्न वा दलित वा जेहेन्दार बिद्यार्थीलाई यस्तो छात्रबृत्ति प्रदान गरिएको हो । पालिकाको छात्रबृत्ति ऐन २०७८(संशोधन सहित)को परिच्छेद ६ को दफा ९ मा भएको व्यवस्था तथा पालिकाको चालु आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार तीनजनालाई उच्च शिक्षा छात्रबृत्ति प्रदान गरिएको आङदेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रबृत्ति पाउनेमा सिरिजङ्गा वडा नं २ आम्बेगुदिनस्थित आम्बेगुदिन माविबाट एसईई परीक्षा उर्तीण छात्रा निसम्सा थेबे(३.६९ जिपीए),सिरिजङ्गा वडा नं १ सिनामस्थित सिनाम माविका छात्र आसिम थेबे र सरिजङ्गा वडा नं २ आम्बेगुदिनस्थित आम्बेगुदिन माविका छात्रा अप्सना विश्वकर्मा रहनु भएको छ ।

छात्रबृत्ति पाउने तीनैजना विज्ञान संकायमा अध्ययनरत रहनु भएको छ । पालिकाले छात्रबृत्ति पाउनका लागि चैत ५ गते भित्र पालिकामा आबेदन दिन सूचना जारी गरेको थियो । सो अवधिमा प्राप्त हुन आएका आबेदनहरुमध्ये छात्रबृत्ति ऐनमा भएको व्यवस्था अनुसार तीनजना छनौट गरिएको प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताउनुभयो । छात्रबृत्तिका लागि छनौट भएकाहरुलाई पालिकाले ७ दिन भित्र पालिकाका सम्पर्क राख्न भनेको छ ।

 

Similar Posts