ताप्लेजुङ जिल्ला अदालतद्धारा ४८% मुद्दा फर्स्यौट
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ६ । ताप्लेजुङ जिल्ला अदालतले चालु आर्थिक बर्ष २०८२।८३ को फागुन मसान्तसम्ममा ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।
अदालतका श्रेष्तेदार शम्मीकपुर शाहका अनुसार जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका कुल ४ सय २२ थान मुद्दामध्ये फागुन मसान्तसम्ममा ४८ प्रतिशत फर्स्यौट भएको हो । शाहका अनुसार नयाँ लगतको रुपमा दर्ता भएका २ सय ६३ थान र आव २०८१।८२ बाट जिम्मेवारी सरी आएका १ सय ५९ थान गरी फागुन मसान्तसम्ममा अदालतमा ४ सय २२ थान मुद्दा थिए । ति मध्ये २ सय २ थान मुद्दा फर्स्यौट भएको छ । फागुन मसान्तसम्मको अवस्था हेर्दा अदालतमा अब २ सय २० थान मुद्दा जिम्मेवारीको रुपमा रहेका छन् ।
फागुन २१ गतेको निर्वाचन र अदालतमा जिल्ला न्यायाधीस विकास श्रेष्ठ स्वयं ताप्लेजुङका लागि मुख्य निर्वाचन अधिकृत रहेका कारण अदालती काम कारवाहीमा केहि प्रभाव परेपनि मुद्दा फर्स्यौटको गति आसलाग्दो अवस्थामा रहेको अदालतको भनाई रहेको छ । अदालतमा जिम्मेवारी सरी आएका १ सय ५९ मुद्दामध्ये ६ महिना भित्रका १ सय १८ थान,६ महिना देखि १ बर्ष भित्रका ३४ थान र १ बर्ष देखि १८ महिना भित्रका ७ थान मुद्दा थिए । अदालतले ६ महिना भित्रका १ सय १९ थान,६ महिना देखि १ बर्ष भित्रका ६१ थान,१ बर्ष देखि १८ महिना भित्रका १६ थान र १८ महिना देखि २ बर्ष भित्रका ६ थान मुद्दा फर्स्यौट गरेको छ ।
अदालतमा अब ६ महिना भित्रका ९८ थान,६ महिना देखि १ बर्ष भित्रका ९९ थान,१ बर्ष देखि १८ महिना भित्रका १५ थान र १८ महिना देखि २ बर्ष भित्रमा ८ थान मुद्दा जिम्मेवारीको रुपमा रहेका छन् । यो चैत लागेदेखि नयाँ लगतको रुपमा दर्ता हुन आउने मुद्दा बाहेकको संख्या हो । अदालतमा अहिले २ बर्ष नाघेका मुद्दा नरहेको अदालतका श्रेष्तेदार शाहले जानकारी दिनुभयो ।