५० देखि ८५ प्रतिशतसम्म अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै आठराई त्रिबेणी,६२ लाख बजेट
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा ६२ लाख रुपैयाँ बराबरको कार्यक्रम कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानका अनुसार पालिकाका ५ वटै वडामा अलैंची बाली नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिने छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाईको मापदण्डमा आधारित रहेर सञ्चालन हुने १२ लाख रुपैयाँ बजेटको यो कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएको पालिकाले जनाएको छ । वडा नं १,२ र ३ मा सञ्चालन हुने सुन्तला बिस्तार कार्यक्रममा पालिकाले १० लाख रुपैयाँ बजेट खर्च गर्ने भएको छ । कोशी प्रदेश सरकार उद्योग,कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत सर्शत अनुदान कार्यक्रम मार्गदर्शन बमोजिम यो कार्यक्रमका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।
आठराई त्रिबेणी गाउँपालिकाको वडा नं २,३ र ४ मा सञ्चालन हुने अलैंची खेति प्रर्वद्धन कार्यक्रमका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ । ४० लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रम कोशी प्रदेश सरकार उद्योग,कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत सर्शत अनुदान कार्यक्रम मार्गदर्शन बमोजिम सञ्चालन हुन लागेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रधानले जानकारी दिनुभयो । उक्त तीनवटै कार्यक्रममा सहभागी हुन चाहने कृषक,कृषक समूह,कृषि सहकारी,कृषि फर्म तथा कृषि उद्यमीले चैत ४ गते भित्र पालिकाको कृषि विकाश शाखा र अन्तरगतको वडामा तोकिएको ढाँचामा आबेदन दिन सकिने पालिकाले जनाएको छ ।