हरेक बर्ष जेठ मसान्त भित्र आगामी आवको नीति तथा कार्यक्रम ल्याउनेगरी मैवाखोलाले बनायो ऐन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १ । संघीय र प्रदेश सरकारको भल्को दिनेगरी ताप्लेजुङको मैवाखोला गाउँपालिकाले हरेक बर्षको जेठ मसान्त भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसक्नुपर्ने गरी ऐन ल्याएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गरी सोहि दिन नीति तथा कार्यक्रम पास गरेर सभामा बजेट प्रस्तुत गर्ने र प्रस्तुत बजेट केहिदिनको विर्मशपछि पास गर्ने कतिपय परम्परा तोड्दै मैवाखोलाले नीति तथा कार्यक्रम ल्याउने मिति नै ऐनमा तोकेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न ऐन बनाउँदै पालिकाले मध्यकालिन खर्च संरचना तयार गर्नेदेखि स्रोतको अनुमान तथा बजेट सीमा निर्धारणसम्मका प्रावधानलाई लिपिवद्ध गरेको हो । ऐन अनुसार पालिका अध्यक्षले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको अधिनमा रही बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने छ । बजेट तथा कार्यक्रम तर्जुमा गर्दा वडा समितिले आफ्नो वडा भित्रका टोल तथा बस्ति विभाजन गरी सहभागितामूलक छलफलबाट प्रस्तावित कार्यक्रमको विवरण तयार गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐन अनुसार टोल तथा बस्तिस्तरको छलफलमा बस्ति भित्रका महिला,बालबालिका,अपाङ्गता भएका व्यक्ति,पछाडि पारिएका वर्ग,युवा,जेष्ठ नागरिक,दलित,निजी क्षेत्र र समुदायमा आधारित संस्थाका प्रतिनिधिको अनिवार्य सहभागिता गराउनुपर्ने हुन्छ ।

बजेट तथा कार्यक्रम तर्जुमा गर्दा पालिकाका पाँच बिषयगत क्षेत्र क्रमशःआर्थिक विकास,सामाजिक विकास,वातावरण तथा विपद् व्यवस्थापन,पूर्वाधार विकास र संस्थागत विकासलाई मुख्य आधार मान्नुपर्ने ऐनले भनेको छ । वडा समितिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेट मार्ग दर्शन र सीमाको अधिनमा रही आयोजना तथा कार्यक्रमको बिषयगत क्षेत्र छुट्टयाई प्राथमिकीकरण सहित बिषयगत समितिमा पेश गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ । यसरी प्राप्त भएका योजना तथा कार्यक्रम बिषयगत समितिले बिषय क्षेत्रगत रुपमा एकीकृत गरी बजेट सीमाको अधिनमा रही प्राथमिकीकरण सहित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको बजेट सीमा र मार्गदर्शनको अधिनमा रही गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा रहेको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा समितिले बजेट बनाउने कार्य गर्ने ऐनमा जिम्मेवारी तोकिएको छ ।

बजेट बनाउँदा बजेट तथा कार्यक्रमको प्रस्तावलाई बिषयगत क्षेत्रको रुपमा छलफल गर्नुपर्ने छ भने छलफल पछि अन्तिम प्रस्ताव तयार पारी कार्यपालिका समक्ष पेश गर्नुपर्ने छ । बजेट बनाउँदा योजना तथा कार्यक्रमलाई दोहोरोपन हुन नदिने तथा योजना र कार्यक्रमबिच आपसी तादम्यता तथा परिपूरकता कायम गर्ने जिम्मेवारी बजेट तर्जुमा समितिको हुने छ । बजेट प्रस्ताव तयार गर्दा आगामी आर्थिक बर्षको बजेट अनुमान र त्यसपछिका दुई आर्थिक बर्षका लागि सृजना भएको दायित्व सहितको खर्च र स्रोतको प्रक्षेपणका आधारमा तयार गर्नुपर्ने छ । बजेट बनाउँदा आयोजना तथा कार्यक्रम र सो अन्तरगतका क्रियाकलापहरु,सोका लागि निर्धारण खर्च मापदण्डका आधारमा लाग्ने अनुमानित लागत तथा लागत व्यहोर्ने स्रोत समेत खुलाउनुपर्ने ऐनमा उल्लेख गरिएको छ । बजेट बनाउँदा बहुबर्षिय खरिद र बिशेष परिस्थितिबाट सिर्जित दायित्वमध्ये आगामी बर्षमा भुक्तानी गर्नुपर्ने रकम तथा विगत बर्षमा भुक्तानी हुन बाँकी रकमको समेत प्रस्ताव गर्नुपर्ने ऐनले भनेको छ ।

Similar Posts