मतपत्र बाहेकका निर्वाचन सामग्री ताप्लेजुङ आईपुग्यो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ४ । निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीलाई जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान केन्द्रमा पठाउने तयारीका लागि प्याकिङ गर्न थालेको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार मतदान केन्द्रमा पठाईने निर्वाचन सामाग्रीको प्याकिङ सुरु गरिएको हो । आयोगले मतपत्र बाहेक अधिकाँस निर्वाचन सामग्री पठाईसकेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार आयोगले मतपेटिका सुरक्षण सामग्री,स्ट्याम प्याड,नउड्ने मसीको मार्कर,स्ट्याम प्याडको मसी,स्वस्तिक छाप,छेकाबारा,मतदाता नामावली र निर्वाचनसंग सम्वन्धित ऐन,नियम र निर्देशिकाको प्रति पठाएको छ ।

आयोगले पठाएका सामग्री प्राप्त भई रुजु गर्ने र यहाँका मतदान केन्द्रमा पठाउने प्रयोजनका लागि प्याकिङ गर्ने कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएका छन् । मतपत्र भने आउँन बाँकी रहेको छ । यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् ।

Similar Posts