अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सिदिङ्वाले दियो चारदिन स्थानीय बिदा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २२ । शुक्रवारबाट सुरु हुने अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चारदिन स्थानीय बिदा दिएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले माघ २३ गते शुक्रवारबाट माघ २६ गते सोमवारसम्म स्थानीय बिदा दिने गरी कार्यपालिकाको निर्णय रहेको जानकारी दिनुभयो । खेलको दर्शन र सहभागिता समेतलाई आधार मानेर स्थानीय बिदा प्रदान गरिएको पालिकाले जनाएको छ । २४ गते शनिवार बिदा परेकोले स्थानीय बिदा तीनदिन मात्र हुने छ । जिल्ला खेलकुद विकास समिति आयोजक भएपनि प्रतियोगिताको सम्पूर्ण संयोजन सिदिङ्वा गाउँपालिकाले गरेको छ । संयोजनको जिम्मेवारी समेत रहेको,प्रतियोगितामा पालिकाभरीका बिद्यालयका बिद्यार्थी तथा शिक्षक समेत सहभागी हुने सहितका कारणबाट पालिकाले स्थानीय बिदा दिएको जनाएको छ । बिदाका समयमा अत्यावश्यक काम बाहेक अरु कामहरु हुने छैनन् । प्रतियोगिता संयोजनको भूमिका पाएकोले पालिकाका पदाधिकारी तथा प्रशासकीय टिम समेत व्यस्त हुदाँ अत्यावश्यक काम बाहेक माघ २३ देखि २६ गतेसम्म अरु सेवा प्रवाह गर्न नसकिने पालिकाले जनाएको छ ।

सिदिङ्वा गाउँपालिका वडा नं ४ स्थित टावरडाँडामा सञ्चालन हुने १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा यहाँका ९ स्थानीय तहका करिव एक हजार बिद्यार्थी खेलमा सहभागी हुँदैछन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश)ले अफिसियल समेत गरी करिव एकहजार एकसयजना सहभागी हुने जानकारी दिनुभयो । ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल दुईसय दुई पदकका लागि प्रतिश्पर्धा हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गरी पालिकाले केहिदिन अघि मात्र उपभोग्य बस्तुको न्यूनतम् मूल्य सूची समेत सार्वजनिक गरेको छ । खेलाडी तथा अफिसियल टिमका लागि खाना र आवास स्थलको प्रवन्ध गरी यसअघि नै सम्वन्धित पालिकालाई जानकारी गराई सकिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिले १३ औं अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड देखि सदरमुकाम बाहिर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । सो भन्दा अघि अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाम फुङलिङ केन्द्रित थियो । १३ औं अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिरिजङ्गाको तेल्लोकमा,१४ औं आठराई त्रिबेणीको वडा नं २ फुलवारीस्थित महभीर खेलमैदानमा र १५ औं मैवाखोला गाउँपालिकाको वडा नं ३ साँघुस्थित नारायणी मावि साँघुको खेल मैदानमा सम्पन्न भई यसपटक अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड१६ औं सिदिङ्वाको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा हुन लागेको छ । १७ औं अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन गर्ने स्थानीय तहले माघ २६ गते सिदिङ्वाबाटै जिम्मेवारी ग्रहण गरी आन्तरिक तयारी थाल्ने मौका पाउने छन् ।

 

Similar Posts