सिँवामा सञ्चालित ७ दिने शैक्षिक तथा शिक्षण सामग्री निर्माण सम्वन्धी तालिम सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ३० । सातदिनको शिक्षण सिकाईका क्रममा निर्माण भएका शैक्षिक सामग्रीको प्रर्दशन सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिममा आयोजित शैक्षिक तथा शिक्षण सामग्री निर्माण सम्वन्धी तालिम बुधवार सकिएको छ ।
तालिममा सहभागी भएका बिद्यालयहरुले कक्षाकोठामा प्रयोग हुने शिक्षण सामग्री निर्माण गरी प्रर्दशन समेत गरेका थिए । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा फक्ताङलुङ गाउँपालिकासंग समन्वय गरेर तालिमको आयोजना गरेको हो । रिड नेपालले यसपटक फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिममा समेत कार्यक्षेत्र थप गरेको छ । कार्यक्षेत्र थप भएका बिद्यालयका १ सय ५४ शिक्षकलाई एकसाथ तालिममा राखी शैक्षिक तथा शिक्षण सामग्री निर्माण सम्वन्धी तालिम प्रदान गरिएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । रिड नेपालले शिक्षकहरु शिक्षण सामग्री सहित कक्षाकोठामा पुग्दा शिक्षण सिकाई प्रभावकारी हुने विश्वास लिने गरेको छ । शिक्षण सामग्री बेगर कक्षाकोठामा प्रवेश गर्दा हुनसक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दैै रिड नेपालले यस्तो अभियान चालिरहेको हो । रिडले बालमैत्री कक्षा,सिकाई सुधार योजना,प्रभावकारी शिक्षण सिकाई,शिक्षाप्रति बिद्यार्थी,अभिभावक र समुदायको चासो बृद्धिका लागि अभियानहरु सञ्चालन गर्ने गर्छ । उसले बिद्यालयको पूर्वाधारका क्षेत्रहरुमा समेत काम गर्ने गरेको छ ।
रिड नेपालले प्रदान गरेको तालिममा पहिलोपटक सहभागी शिक्षकहरु वीरेन्द्र दाहाल र निर्मला शेर्पाले तालिम उपलब्धीमुलक भएको भन्दै तालिमबाट प्राप्त भएको ज्ञान सीपलाई कक्षा कोठामा प्रयोग गर्ने विश्वास दिलाउनु भएको छ । रिड नेपालको कार्यक्षेत्र बिस्तार भएसंगै अब रिडको कार्यक्षेत्र फक्ताङलुङका ७ वटै वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६,७ र ८ गरी १० वटा वडा कार्यक्षेत्रमा कायम भएका छन् । तालिमको समापन समारोहका प्रमुख अतिथि फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति),उपाध्यक्ष रवीन साम्रा(विकास),शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुुङका प्रमुख योगेश्वर भट्टराई,फक्ताङलुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष आइतराम लिम्बू,सिँवा मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मचिन्द्र लिम्बू सहितले तालिमको उपलब्धीलाई संस्थागत गरी कक्षा कोठासम्म पुर्याउन सहभागीलाई आग्रह गर्नु भएको छ ।