कपास र रेशम खेति देखि कफी र मौरी पालनसम्मलाई प्रोत्साहन गर्दै पाथीभरा याङवरक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २९ । कृषि क्षेत्रबाट किसानलाई आत्मनिर्भरताको बाटो देखाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कपास देखि रेशम खेतिसम्मलाई प्रर्वद्धन गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार पालिकाले वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटेमा कपास र रेशम खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने छ । यसका लागि पालिकाले ७ लाख रुपैयाँ बिनियोजन गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको पालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईले जानकारी दिनुभयो । पालिकाको वडा नं ४ डुम्रिसे,वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिनमा कफी खेति प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । कफी खेतिका लागि १० लाख रुपैयाँ बजेट रहेको भट्टराईले जानकारी दिनुभयो । वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिनमा पालिकाले मौरी प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने छ ।

भट्टराईका अनुसार यसका लागि ५ लाख रुपैयाँ बजेट रहेको छ । पालिकाले यसअघि वडा नं २ थेचम्बुमा आलु प्रर्वद्धन कार्यक्रमका लागि किसानलाई आलुको बीउ देखि खेतिका लागि प्रयोग हुने उपकरण समेत दिईसकेको जनाएको छ । वडा नं १ नाङखोल्याङमा स्थानीय माटो सुहाउँदो फलफूल र तरकारीबालीमा सहयोग गर्दै आएको पालिकाले जनाएको छ । सम्वन्धित वडाहरुले समेत स्थानीय माटो सुहाउँदो खेति प्रणालीका लागि किसानलाई सहयोग गर्दै आइरहेका छन् । कपास र रेशम खेति,कफी खेति र मौरी प्रर्वद्धन कार्यक्रममा सहभागी हुन चाहने कृषकहरुले माघ ४ गते भित्रमा पालिकामा निबेदन दिईसक्न पालिकाले आग्रह गरेको छ ।

Similar Posts