ताप्लेजुङमा २८ मतदानस्थल अति सम्बेदनशिल,सुरक्षाकर्मी बाहेक ७६२ कर्मचारी खटिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २२ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङमा कायम भएका ८० मध्ये २८ मतदानस्थल अति सम्बेदनशिल सूचीमा समेटिएका छन् ।
जिल्ला सुरक्षा समितिले मतदान स्थलको वर्गिकरण गरेको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार २५ वटा मतदानस्थल सम्बेदनशिल र २७ मतदानस्थल सामान्यको सूचीमा परेका छन् । यहाँ यसबर्ष ५ मतदानस्थल थप भएका हुन् । २०७९ सालको निर्वाचनमा यहाँ ७५ मतदानस्थल रहेका थिए । ताप्लेजुङमा ८० मतदानस्थलमा १ सय २७ वटा केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल(बिपिन)का अनुसार आउँदो फागुन २१ गतेको निर्वाचनका लागि यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ ८८ हजार २ सय ८५ मतदाता थिए । यसबर्ष २०७९ सालको भन्दा २ हजार ४२ जना मतदाता थपिएका छन् । आउँदो प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरी सहितका सुरक्षाकर्मीबाहेक ७ सय ६२ जना कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १ सय २७ मतदान केन्द्रमा एकजना मतदान अधिकृत र एकजना सहायक मतदान अधिकृत गरी कुल २ सय ५४ जना खटिने छन् । प्रत्येक मतदान केन्द्रमा तीनजनाको दरले ३ सय ८१ जना सहायक कर्मचारी खटिदा प्रत्येक मतदान केन्द्रमा एकजना सहयोगी कर्मचारी खटाइने तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।