तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट ५ लाख बढी नाफा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १७ । लाखेजात्रा सन्चालन समितिले तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट ५ लाख लाख रुपैयाँ बढी रकम बचत गरेको जनाएको छ । बिहीबार समितिले तेस्रो ताप्लेजुङ गोल्डकपको आयव्यय विवरण प्रस्तुत गर्दै ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रकम बचत भएको जनाएको छ ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगितामा ९१ लाख ४८ हजार २ सय ७६ रुपैयाँ रकम सङ्कलन भएको थियो । विभिन्न ब्यक्ति तथा संघ सस्थाबाट संकलन भएको उक्त रकम मध्ये ८७ लाख ९ सय ४९ रुपैयाँ खर्च भएको शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ। ९ स्थानीय तह रहेको ताप्लेजुङका ६ वटा पालिकासङ्ग भएको सम्झौता बमोजिमको रकम प्राप्त हुन बाँकी रहेको अध्यक्ष सागर मादेनले बताउनुभयो । मादेनका अनुसार पाथीभरा याङ्वरक, फक्ताङ्लुङ,सिरिजङ्घा,आठराई त्रिबेणी,मेरिङ्देन र मैवाखोला गाउँपालिकाबाट रकम प्राप्त हुन बाँकी रहेको छ । सम्झौता भईसकेको र रकम निकासाको क्रममा रहेको समेत मादेनले जानकारी दिए । ति पालिकाबाट सहयोग प्राप्त भए बचत रकम करिब १० लाख भन्दा बढी हुने समितिले जनाएको छ ।

लाखेजात्राको अवसरमा गत साउन २४ गतेदेखी ३१ गते सम्म फुङलिङस्थत भानुजन माविको खेलमैदानमा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप भएको थियो । समितिले टिकट बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी गरेको छ । पहिलो पटक समितिले टिकट बिक्रीका लागि ठेक्का बोलपत्रमार्फत बढाबढमा २० लाख रुपैयाँमा सम्झौता गरेको थियो । भारतको एकसहित ८ वटा टोली सहभागी भएको गोल्डकपको उपाधी सलहेस युबा क्लबले हात पारेको थियो । चर्च ब्वाइज फुटबल क्लब उपबिजेता भएको थियो । बिजेता सलहेसले नगद ७ लाख लाख २ हजार ८२ रुपैयाँ र उपबिजेता चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । बिधागततर्फ समेत पुरस्कार बितरण गरिएको थियो । खेल खेल्न आउने टिमको यातायात खर्च,खाना खर्चसहितको खर्च आयोजक आफैंले गरेको थियो ।

Similar Posts