|

एकीकृत शिक्षक संगठनद्वारा विभिन्न विभाग गठन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १ ।
ताप्लेजुङमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले विभिन्न विभागहरु गठन गरेको जनाएको छ । संगठनले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न चारवटा विभाग गठन गरेको जनाएको हो ।
संगठनको बिहीबार बिहान बसेको बैठकले खिनुमाया इजम इन्चार्ज, मनिसा सावादेन अध्यक्ष र रुपा लिम्बू सचिव रहेको १३ सदस्यीय महिला विभाग गठन गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । त्यस्तै रमेश थेबे इन्चार्ज, अमरबहादुर यक्सो अध्यक्ष र शिवराम पासवान सचिव रहेको नौ सदस्य उच्च मावि शिक्षक विभाग, लक्ष्मी चुडाल इन्चार्ज, चेतन खतिवडा अध्यक्ष र जानुका गौतम सचिव रहेको नौ सदस्य राहत शिक्षक विभाग तथा तेजबहादुर भट्टराई इन्चार्ज रहेको निजी प्याब्सन एन प्याब्सन शिक्षक विभाग गठन गरेको संगठनका जिल्ला अध्यक्ष मदनकृष्ण दाहालले जानकारी दिनुभयो ।
यस्तै बैठकले हाल जिल्लामा शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको हुँदा उक्त कार्यमा विद्यार्थी, अभिभावक लगायत सबै क्षेत्रको अधिकारलाई सुनिश्चित गर्न माग गर्ने निर्णय गरेको छ । शिक्षकको पेशागत जिम्मेवारी र व्यक्तिगत अधिकारलाई समायोजन गरी तथ्य तथ्याङ्कको आधारमा दरबन्दी मिलान गर्न संगठनले माग गरेको छ । त्यस्तै त्रुटिपूर्ण मिलानलाई सच्याउन र मिलान हुन बाँकी रहेको स्थानीय तहमा शिक्षा मन्त्रालयको पछिल्लो निर्देशनका आधारमा निष्पक्ष रुपमा दरबन्दी मिलान गर्न आह्वान गर्ने बैठकले निर्णय गरेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
यता कोरोना भाइरस (कोभिड–१९) का कारण शैक्षिक क्षेत्र प्रभावित भइरहेका बेला स्वास्थ्यसम्बन्धी सबै नियम पालना गरी स्थानीय तहहरुको समन्वयमा विद्यालय र विव्यसको पहलमा शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाका आधारमा शैक्षिक गतिविधि गर्न मातहतका कमिटीलाई आग्रह गर्ने निर्णय पनि संगठनले गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts