संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणमा ग्रीनहुडले राख्यो सरोकारवालासंग सहकार्यको प्रस्ताव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १ । ग्रीनहुड नेपालले संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणमा सरोकारवालासंग सहकार्यको प्रस्ताव गरेको छ ।

मंगलवार ताप्लेजुङको फुङलिङमा आयोजना गरेको कार्यक्रममा ग्रीनहुड नेपालका अनुसन्धान तथा कार्यक्रम संयोजक रेशु बस्यालले सरोकारवालासंगको सहकार्यमा संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण सम्भव हुने बताउनुभयो । उहाँले संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण साझा प्रयासबाट मात्र सम्भव हुने भएकोले यसका सरोकारवालासंग आफुहरु सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो । विगत १५ बर्ष देखि ५ मुख्य उद्देश्यका साथ स्थापना भएको ग्रीनहुड नेपाल विज्ञानमा आधारित गैह्र नाफा मुलुक गैह्र सरकारी र सामाजिक संस्था हो । ग्रीनहुडले प्राकृतिक स्रोतको संरक्षण र दिगो प्रयोगबारे अध्ययन अनुसन्धान गरी स्थानीय समुदाय र सरोकारवालालाई सघाउने काम गर्दै आएको छ । सुरुमा अनुसन्धानात्मक कार्यबाट गतिविधि अघि बढाएको ग्रीनहुड नेपालले पछिल्ला समय संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका कार्यमा साझेदार निकायसंग मिलेर काम गर्दै आएको बस्यालले जानकारी दिनुभयो । सालक संरक्षणका लागि चितवनको मादीमा क्यामरा ट्रयापिङ सहितका कार्य हुँदै आएको उहाँले बताउनुभयो ।

संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण बाहेक ग्रीनहुडले विज्ञानमा आधारित नीति वकालत गर्ने,संरक्षण शिक्षा र सचेतनाका कार्यक्रम गर्ने र संरक्षण क्षमता विकासका लागि सम्वन्धित पक्षलाई थप गतिशिल बनाउन जागरणका अभियान सञ्चालन गर्ने गर्छ । वन्यजन्तु तथा वन्यजीवको अवैध व्यपारलाई नियन्त्रण गर्न अनुकुलनशील उपायहरु आवश्यक भएको ठहर गर्दै ग्रीनहुडले यसका लागि नवीन प्रविधि र प्रयासहरुको खाँचो औंल्याएको छ । औषधिजन्य जडिबुटीको बैधानिक व्यपारको बसह चलिरहेका बेला ग्रीनहुडले बैधानिक व्यपारलाई प्रवद्र्धन र संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रणका लागि पैरवीको अभियान अघि बढाएको ग्रीनहुडमा आवद्ध रहेर अनुसन्धानात्मक कार्यमा संलग्न सोफिया केसीले जानकारी दिनुभयो । कार्यक्रममा संकटापन्न प्रजाति सालक देखि सुनाखरी र पाँचऔंले सम्मको अवैध ओसारपसार र कारोवारका बिषयले प्रवेश पाएको थियो । केसीका अनुसार ग्रीनहुडको अध्ययनबाट नेपाल सालक र सालकको खपेटाका लागि स्रोत केन्द्र मात्र नभई अबैधानिक व्यपारिक केन्द्रको रुपमा रहेको हुनसक्ने देखिएको छ । केसीले सालकको पछिल्लो १० बर्षको अवस्थाका बारेमा चित्रण समेत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले अति संकटापन्न,संकटापन्न,लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको संरक्षणका लागि स्थानीय समुदाय,सरकारी निकाय र गैह्र सरकारी निकायबिच उचित तालमेल र तादम्यता जरुरी हुने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले प्रहरीका आफ्ना इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीलाई अति संकटापन्न,संकटापन्न,लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिहरु,यसको अवैध व्यपारबाट हुने नोक्सानी र कानुनी दाहेराबारे थप अनुशिक्षण आवश्यक रहेको बताउनुभयो । डिभिजन वन कार्यालयका निमित्त प्रमुख ललितनारायण यादवले डिभिजन वन कार्यालयकोतर्फबाट अनुशिक्षणका कार्यक्रम चालू आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रममा रहेको भन्दै तत्काल यस्तो कार्यक्रम अघि बढाउने जनाउनुभयो । कार्यक्रममा एन्साव नेपालका कार्यक्रम अधिकृत आयुष भट्टराईले दिगो व्यपार र संरक्षणका लागि आफुहरुले ताप्लेजुङमा ११ वटा जडिबुटी प्रजातिको पहिचान गरी प्रारम्भिक अनुसन्धानको कार्य सुरु गरेको जानकारी दिनुभयो ।

Similar Posts