आयोजक तेल्लोक स्पोर्टिङ क्लव सिरिजङ्गा गोल्डकपको सेमीफाइनलमा,रेडहर्ष इलाम टाईब्रेकरमा स्तब्ध
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २३ । आयोजक तेल्लोक स्पोर्टिङ क्लव ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सुरु अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सेमी फाइनल प्रवेश गरेको छ ।
टाईब्रेकरमा रेडहर्ष फुटबल क्लव इलामलाई ५–३ ले पराजित गर्दै आयोजकले सेमीफाईनलमा स्थान बनाएको हो । निर्धारित अवधिको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा तेल्लोक स्पोर्टिङ क्लवका शिशिर राई,सुनुयोजित यक्सो,दीपेश लिम्बू,सविन लिम्बू र प्रनिश घोण्डेका प्रहारले गोलको दिशा लिए । रेडहर्षबाट पहिलो प्रहार गरेका सुदीप लिम्बूको प्रहार तेल्लोकका गोलरक्षक पर्वत लिम्बूले असफल बनाउनुभयो । विवेक सुनाम,अर्जुन गुरुङ र बिनोद धमलाको प्रहार गोलमा परिणत भएपनि रेडहर्ष आयोजक टिमका सामु ५–३ ले स्तब्ध भयो ।
यसअघि खेलको सुरुवाती अग्रता पनि आयोजक टिमले लिएको थियो । आयोजकका दीपेश लिम्बूको अग्रतालाई रेडहर्षका बिनोद धमलाले उत्कृष्ट गोल गर्दै १–१ को बराबरीमा ल्याउनु भएको थियो । निर्धारित अवधि १–१ मा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो ।
यसअघि सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला २०८२ को उद्घाटन गर्नुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू सहितले मन्तव्य राख्नु भएको थियो । आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार बुधवार हुने दोस्रो क्वाटर फाइनल खेलमा न्यूस्टार फुटबल क्लव बिर्तामोडले पाँचथर वाईवाई फुटबल क्लवको सामना गर्ने छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार ३ सय २१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । किराँत लिम्बू लिपिका प्रचारक,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिएको क्लवका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।