ताप्लेजुङका समग्र नागरिकलाई नेपाल–चीन सीमाना नागरिक प्रवेश पास उपलब्ध गराउन माग गर्दै प्रशासनमा ज्ञापनपत्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २७ । ताप्लेजुङका समग्र नागरिकलाई नेपाल–चीन सीमाना नागरिक प्रवेश पास उपलब्ध गराउनुपर्ने माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ र पाथीभरा सुनचाँदी कला व्यवसायी संघले सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्कालाई प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम र पाथीभरा सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष गंगाराम शंकरको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । समग्र नागरिकलाई नेपाल–चीन सीमाना नागरिक प्रवेश पास उपलब्ध गराउनुपर्ने भन्दै जेन जी ताप्लेजुङकोतर्फबाट पैरवी भइरहेको थियो । जेन जी ताप्लेजुङको निरन्तर दबाबपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ मा रहेको मूल भन्सार कार्यालयमा नायव सुब्बा प्रेम सेढाईँको नेतृत्वमा कर्मचारी पठाउने गरी भन्सार विभागले तोक लगाई सकेको छ ।

मूल भन्सार कार्यालय सञ्चालनमा आए लगत्तै ताप्लेजुङ जिल्लाका सम्पूर्ण नागरिकहरुलाई नेपाल–चीन सीमाना नागरिक प्रवेश पास उपलब्ध गराउने कार्यको यथाशीघ्र प्रारम्भ गरी जिल्लाको व्यवसायिक,सामाजिक तथा आर्थिक गतिविधि सुद्रिढ बनाउन वाणिज्य संघ र सुनचाँदी कला व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको ध्यानाकर्षण गरेका हुन् । सीमावर्ती क्षेत्रका नेपालीहरुलाई तिब्बती क्षेत्रमा प्रवेश गर्दा दिईने परिचयपत्र वा यात्रा अनुमति पत्रलाई सामान्यतया सीमावर्ती परिचयपत्र वा प्रवेश अनुमति पत्र भनिन्छ । यसले सीमवर्ती क्षेत्रमा बासिन्दाहरुलाई निश्चित तिब्बती क्षेत्रहरुमा आवागमन गर्न र व्यपारिक तथा साँस्कृतिक सम्वन्ध कायम राख्न सहज बनाउने ठानिन्छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अभिलेख अनुसार आर्थिक बर्ष २०८१।८२ मा ३२ थान यात्रा अनुमति पत्र सिफारिस गरिएको छ ।

Similar Posts