गत फागुन १० गते रातिको घटना बारे छानबिनको माग

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २६ । ८४ जना मादेन घर परिवारका सदस्यहरुको हस्ताक्षर सहित बुधवार पत्रकार सम्मेलनमार्फत २०८१ साल फागुन १० गते स्वर्गीय लप्टन हर्कजंग,भुपू मन्त्री विष्णु मादेन र उहाँका छोराहरु रहेको घरमा भएको घटनाको निश्पक्ष छानबिन र दोषी उपर कारवाहीको माग गरिएको छ ।

मादेन फेन्दुवा जनकल्याण केन्द्रको दोस्रो पुस्ता बताउने समूहले स्वर्गीय विष्णु मादेनका छोराहरु चन्द्र र प्रदीप बसेको घरमा गत बर्ष फागुन १० गते रातको ११ बजे प्रहरीद्धारा घर तोडफोड गरिएको,बर्बर दमन,अश्रुग्याँस प्रहार र कुटपिट भएको भन्दै उक्त घटनाको छानबिनको माग गरेको हो । पत्रकार सम्मेलनमा ८४ जना मादेन घर परिवारका सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति जारी भएको हो । उक्त घटनाको प्रत्यक्ष पीडित भएको बताउने प्रदीप मादेन(नानी)ले रातको समयमा घरभित्र अश्रुग्याँस प्रहार गरी निस्सासिएर निस्किएका घर परिवारका सदस्य तथा पाहुनालाई प्रहरीले निर्मम ढंगले कुटपिट गरेको र मानवता विरोधी कार्य गरेको दावी गर्नु भएको छ । यो घटनालाई आफुहरुले राज्यको मानवता बिरुद्धको अपराधको फुङलिङ घटना’भनेर दर्ज गरेको उहाँको भनाई छ । घटना भएको ९ महिना बितिसक्दा समेत राज्य पक्षबाट छानबिन समिति गठन नगरेर उक्त घटनालाई प्रोत्साहन गरिएको भन्दै उहाँले रोष प्रकट समेत गर्नु भएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित अगुवा कीर्तिमान मादेनले मादेन फेन्दुवा जनकल्याण केन्द्रको संस्थागत टिमले यो घटनाका बारेमा बोल्न नचाहेपछि आफुहरु स्र्फुत रुपमा न्यायका लागि अग्रसर भएको बताउनुभयो । राज्य प्रशासनले जनताको अभिभावकको रुपमा शान्ति सुरक्षा प्रदान गर्नुपर्नेमा दायित्व भूलेर नागरिक माथि आक्रमण गरेको उक्त घटनाको छानबिन अनिवार्य सर्तको रुपमा रहने अर्का अगुवा अशोक मादेनले बताउनुभयो । पाथीभरा(मुक्कुमलुङ)क्षेत्रमा केवलकार निर्माणको बिरोधको क्रममा फागुन १० गते साँझ नो केवलकार पक्षका प्रर्दशनकारी र प्रहरीबिच राँके जुलुस नियन्त्रणको क्रममा वीरेन्द्र चौकमा मुठभेड भएको थियो । उक्त घटना क्रममा प्रहरीको संलग्नतालाई प्रर्दशनकारीले राज्यको मानवता बिरुद्धको अपराधको रुपमा औंल्याएका छन् । जेन जी बिद्रोह पछि बनेको सुशिला कार्की नेतृत्वको बर्तमान सरकारलाई उतिबेलाको घटना सुनाउन आफुहरुले ढिलै भएपनि पत्रकार सम्मेलनमार्फत जानकारी गराएको कार्यक्रममा उपस्थित अगुवाहरुले बताएका छन् ।

Similar Posts