लिटलबुद्धमा सामाजिक सञ्जालको सहि प्रयोगबारे सचेतना,आगलागी पीडितलाई शिक्षक र बिद्यार्थीको सहयोग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । सामाजिक सञ्जालको गलत उपयोग र अज्ञानताले सृजना गर्ने समस्याबाट बच्ने उपायका बारेमा जानकारी दिन ताप्लेजुङको फुङलिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक बिद्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

बिद्यालयका बिद्यार्थीहरुलाई सामाजिक सञ्जालको समस्या र गलत उपयोगबाट कसरी बच्ने भन्ने बिषयमा जानकारी दिन अभिमुखीकरण कार्यक्रम गरिएको लिटलबुद्ध आवासीय माध्यमिकका प्रिन्सिपल युवराज गिरीले जानकारी दिनुभयो । कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ र जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले सहजीकरण गर्नु भएको थियो । सामाजिक सञ्जाल भनेको विश्वका मानिसहरूलाई एक आपसमा जोड्ने र उनीहरुका विचार,जानकारी र सामग्रीहरु साझा गर्ने गरेपनि यसको लगत प्रयोगले समाजमा गलत सूचनाहरु प्रवाह गर्ने देखि व्यक्ति, परिवार र संस्थाहरुको मूल्य, मान्यता र प्रतिष्ठामा आँच पु¥याउने नकारात्मक प्रभाव पार्ने कामहरु पनि हुने गरेका छन् । यस्तो हुन नदिन बिद्यालयतहबाटै किशोर किशोरीलाई जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रममार्फत सजग गराईएको लिटलबुद्धले जनाएको छ ।

यसैबिच बिद्यालयमा अध्ययन गर्ने आगलागी पीडित बिद्यार्थीद्धय गृष्मा र साइमन उपरकोटीका आफन्तलाई बिद्यालय,बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका, अध्ययरत बिद्यार्थी र बिद्यालयकोतर्फबाट नगद र शैक्षिक सामग्री प्रदान गरिएको छ । बिद्यालयका शिक्षक शिक्षिकाबाट संकलित ५ हजार,कक्षा ५,६ र ७ का बिद्यार्थीले खाजा रकम कटाएर सहयोगका लागि जुटाएको १ हजार ७ सय १५ रुपैयाँ गरी कुल ६ हजार ७ सय १५ रुपैयाँ गृष्मा र साइमनलाई सहयोग गरिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले आगलागी पीडित गृष्मा र साइमनको चालु शैक्षिक सत्रको अध्ययन शुल्क मिनाहा गरेको छ भने प्रिन्सिपल गिरीकातर्फबाट गृष्मा र साईमनलाई २ थान ट्रयाकसुट र २ थान टिसर्ट निःशुल्क प्रदान भएको छ । कार्यक्रममा उपस्थित जिल्ला प्रहरी प्रमुख डिएसपी गौतमले बालबालिकालाई दुई दर्जन कापी र डटपेन हस्तान्तरण गर्नु भएको थियो । गत कात्तिक ५ गते फुङलिङको कञ्चनजंघा टोलको झोला बनाउने उद्योगमा आगलागी हुँदा ३६ लाख रुपैयाँ बढीको क्षति भएको थियो । आगलागी पीडित गृष्मा र साइमन महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीका छोराछोरी हुन् ।

Similar Posts