मिक्वाखोलामा दर्ता नगरी व्यवसाय सञ्चालन गर्नमा रोक,सडकमा काठ दाउरा राख्न नपाइने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाको सीमानामा रहेका मुख्य बजार क्षेत्रहरुमा दर्ता नभई व्यपार व्यवसाय सञ्चालन गर्नमा कडाई गर्ने भएको छ ।
उसले म्याद नाघेका सामग्री बिक्री बितरण गरेको पाईए तथा फोहोरमैला थाभावी फ्याँकेको पाईए कडा कारवाही हुने चेतावनी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले सोमवार सार्वजनिक सूचना आवह्वान गर्दै पालिकाका मुख्य सीमाना भित्र रहेका हान्द्रुङ,सिम्ले,थुम्बा,डाँडागाउँ,लिवाङ,हाङसाङचोक,थलङ,साँवा,तेम्बा,ताङ्खु र पापुङसहितका पालिका क्षेत्रमा व्यपार व्यवसाय सञ्चालन गर्दा पालिकामा अनिवार्य दर्ता गर्नुपर्ने बताउनु भएको छ । उहाँले आवह्वान गरेको सूचनामा म्याद सकिएका चीजबस्तु बिक्री बितरण गरेको पाइए कडा कारवाही गर्ने चेतावनी दिदैं उपभोक्तालाई समेत पेय पदार्थ सहितका उपभोग्य बस्तुको खरिद पूर्व म्याद भए नभएको जाँचगरी खरिद र उपभोग गर्न आग्रह गरिएको छ ।
पालिकाले पसल,व्यवसायबाट निस्कने फोहोर,बोतल सार्वजनिक स्थलमा फालेर वातावरण दुषित गरे कारवाही चेतावनी दिएको छ । पालिकाले कुनैपनि बेला बजार अनुगमन हुनसक्नेतर्फ सचेत समेत गराएको छ । पालिकाको मुख्य सडक दायाँबाँया किनारमा पशु चौपाया बाँध्ने,पसलको फोहोरहरु फालेर दुर्गन्धित बनाउने जस्ता जनगुनासो आएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । सडक दायाँबाँया २ मिटर पसलको सामग्री,दाउरा काठ जस्ता सामग्री राख्न नपाउने समेत पालिकाले नियम बनाएको जनाएको छ । पालिकाले सडकको दायाँबायाँ ५ मिटर भित्र पशुचौपायाको गोठ तथा खोर राख्नमा प्रतिवन्ध गरेको छ भने कसैले राखेको भए हटाउन १५ दिनको म्याद दिएको समेत पालिकाले जनाएको छ ।