नायक लुईँटेल सुटुक्क पाथीभरामा,ताप्लेजुङको सुन्दरतालाई चलचित्र क्षेत्रले समेत समेट्नुपर्ने सुझाव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २ । ‘शिरिषको फूल’नाटकको शीर्ष भूमिकामा अभिनय गर्न अमेरिकाबाट नेपाल आएका नायक जीवन लुईँटेल सुटुक्क ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुगेर फर्किनु भएको छ ।

ताप्लेजुङ र पाथीभरा मन्दिरको पहिलो यात्रा सुनाउनु भएका लुईँटेलले अबको समय नेपाली चलचित्र क्षेत्रमै केन्द्रित हुने संकेत गर्नुभयो ।‘बढी समय चलचित्र र बाँकी समय नेपाल–अमेरिका दुबै क्षेत्रमा केन्द्रित हुने छ’उहाँले उज्यालो पोष्टसंग भन्नुभयो । नेपाली चलचित्रमा पनि आफूलाई कमब्याक गराउने तयारी गर्नु भएका उहाँ दर्शकले आफूलाई नाटकमा रुचाउने विश्वास लिनुहुन्छ । कुनैसमय नेपाली चलचित्र क्षेत्रमा चर्चित रहनु भएका जीवन अमेरिका हानिएपछि अभिनयबाट केहि टाढा जस्तो देखिनु हुन्थ्यो । तर, अब उहाँले आफूलाई कमब्याक गराउँदै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्ने योजना बनाउनु भएको छ । भन्नुहुन्छ‘अमेरिका बसेपनि नेपाली माटो,नेपाली चलचित्र र नेपाली रंगक्षेत्र मेरो जीवनभन्दा कहिल्यै टाढा भएन’। उहाँ नाटक र नेपाली चलचित्र दुबैको भूमिकाबाट विगतकै चलचित्र करियरमा जोडिने योजनामा हुनुहुन्छ ।

साहित्यमा समेत लगाव हुनुभएका लुईँटेलले अमेरिकामा रहँदा नेपाल र नेपालीपनको झल्कोदिनेगरी साहित्य सृजना र वाचन गर्नु भएको छ । साहित्यमा उहाँको मनपर्दो बिधा कविता हो । सम्वत् ५६–५७ सालमा महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्ययन गर्ने क्रममा क्याम्पस तहमा भएका कविता प्रतियोगितामा लुइँटेल प्रतिश्पर्धी मात्र बन्नुहुन्न थियो,साहित्यमा चर्चामा रहने नाममध्येका एक खड्गराज राईउर्फ उमेश राई‘अकिञ्चन’संग उहाँको कडै प्रतिश्पर्धा हुन्थ्यो । उहाँका सहपाठी तथा लक्ष्मी सनराईज बैंकस्थित ताप्लेजुङ शखा प्रवन्धक अनिल श्रेष्ठ क्याम्पस पढ्दैदेखि लुईँटेलमा अभिनय र साहित्यको उचो लगाव रहेको बताउनुहुन्छ ।

‘कहिले उहाँ प्रथम म द्धितीय,कहिले म प्रथम उहाँ द्धितीय’ताप्लेजुङ आएका बखत उहाँले क्याम्पसका साहित्यिक प्रतिश्पर्धी राईलाई सम्झिनुभयो । राई नेपाल सरकारका उपसचिव हुनुहुन्छ । राईले केहि समय तत्कालिन जिल्ला विकास समितिको योजना तथा अनुगमन अधिकृत भएर जिम्मेवारी सम्हाल्नु भएको थियो । ताप्लेजुङको सुन्दरता र पाथीभराको विश्वासले मोहित बनाएको बताउने नायक लुईँटेलले ताप्लेजुङको सुन्दरतालाई नेपाली चलचित्र क्षेत्रले समेत समेट्न सक्नुपर्ने सुझाव समेत दिनु भएको छ ।‘यसमा मेरो पनि प्रयत्न रहने छ’लुईँटेलले भन्नुभयो ।

Similar Posts