असार १६ सम्म दर्ता भएको विवरणका आधारमा ताप्लेजुङमा झण्डै ९० हजार मतदाता,थपलाई अद्यावधिक गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । ताप्लेजुङमा २०८२ साल असार १६ गतेसम्म दर्ता भएका फोटो सहितको मतदाता नामावलीमध्ये २०८२ साल कात्तिक १६ गतेसम्ममा ८९ हजार ४९० जना मतदानका लागि योग्य देखिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले गत असार १६ गतेसम्म कार्यालयमा दर्ता भएको विवरणका आधारमा २०८२ साल कात्तिक १६ गतेसम्ममा मतदानका लागि योग्य हुने पालिकागत मतदाताको विवरण निकालेको छ । १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये २०८२ साल फागुन २० गते सम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न कानुनी व्यवस्था गरिएको छ ।
निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पछिल्लो समय सुरु भएको मतदाता नामावली संकलन अद्यावधिक कार्यमा संलग्नहरुको योग्य सूची समेत एकीकृत गरी मतदानका लागि योग्य मतदाता नामावली प्रकाशन हुने छ ।
२०८२ साल कात्तिक १६ गतेसम्ममा मतदानका लागि योग्य मतदातामध्ये ४७ हजार ८१९ पुरुष र ४१ हजार ६७१ महिला मतदाता रहेका छन् । उल्लेखित मतदातामध्ये आठराई त्रिबेणी गाउँपालिकामा ५ हजार १७ पुरुष र ४ हजार ४१५ महिला गरी कुल ९ हजार ४३२ मतदाता रहेका छन् । फक्ताङलुङ गाउँपालिकामा ५ हजार २४ पुरुष र ४ हजार १०१ महिला गरी ९ हजार १२५,फुङलिङ नगरपालिकामा ८ हजार ९३४ पुरुष तथा ८ हजार ६९६ महिला गरी कुल १७ हजार ६३० मतदाता छन् ।
मिक्वाखोला गाउँपालिकामा ३ हजार ८०९ पुरुष तथा ३ हजार १७४ महिला गरी कुल ६ हजार ९८३,मेरिङदेन गाउँपालिकामा ४ हजार ५९२ पुरुष र ३ हजार ८८८ महिला गरी ८ हजार ४८० र मैवाखोला गाउँपालिकामा ३ हजार ९९५ पुरुष र ३ हजार ५०० महिला गरी ७ हजार ४९५ मतदाता रहेका छन् ।
पाथीभरा याङवरक गाउँपालिकामा ५ हजार २६० पुरुष र ४ हजार ४८२ महिला गरी कुल ९ हजार ७४२,सिदिङ्वा गाउँपालिकामा ४ हजार ९०८ पुरुष तथा ४ हजार ७९ महिला गरी ८ हजार ९ सय ८७ र सिरीजङ्गा गाउँपालिकामा ६ हजार २८० पुरुष र ५ हजार ३३६ महिला गरी कुल ११ हजार ६१६ मतदाता हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।