ताप्लेजुङ सरोकार केन्द्रले भेट्यो भौतिक पूर्वाधार तथा उर्जामन्त्री,सडक,पुल र उर्जाका मागपत्र पेश

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङ सरोकार केन्द्रले भौतिक पूर्वाधार तथा उर्जामन्त्री कुलमान घिसिङमार्फत तमोर जलाशययुक्त परियोजना देखि तमोर करिडोर सडक निर्माण सम्ममा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरेको छ ।

सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङको अगुवाईमा गएको टोलीले ताप्लेजुङ जिल्लाका सडक,उर्जा र पुल निर्माण सम्वन्धी मागपत्र पेश गरेको हो । सरोकार केन्द्रले तमोर करिडोर सडक(मूलघाट–दोभान–ओलाङचुङगोला–टिपताला)को स्तरोन्नती संगै तमोर करिडोर क्षेत्रमा पर्ने लिम्बूनी पुल देखि अन्य क्षेत्रमा चाहिने पुल पुलेसा निर्माणमा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरेको हो । यस्तै सुकेटार–काफ्लेपाटी सडकखण्ड कालोपत्रे गर्ने कार्य पूरा गर्न उचित बजेटको व्यवस्था गर्न,निघुरादिन–ढुङ्गेसाँघु सडक तत्काल पूरा गर्न र निर्माणाधिन बहानन्दे–दोभान सडकमा बजेटको अभाव हुन नदिन समेत सरोकार केन्द्रले भौतिक पूर्वाधार तथा उर्जामन्त्री घिसिङको ध्यानाकृष्ट गरेको छ ।

सरोकार केन्द्रले उर्जातर्फ ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त परियोजनाको प्रारम्भिक काम तत्काल सुरु गर्न र ताप्लेजुङका बिभिन्न क्षेत्रमा वितरण गरिएको विद्युत प्रसारण लाइनलाई सुरक्षित र जोखिममुक्त बनाउन सरकारको ध्यानाकृष्ट गरेको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौं,ताप्लेजुङ जन्मघर भई पेशा व्यवसायको सिलसिलामा उपत्यकामा बसोबास गर्नेहरुको संस्था हो । यस्तै संस्थाको रुपमा ताप्लेजुङ समाज समेत क्रियाशिल रहेको छ ।

Similar Posts