खानपान,रहनसहन र जीवनशैलीको व्यवस्थापन गरी मुटु जोगाउन ताप्लेजुङका सरोकारवालाको आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ११ । खानपान,रहनसहन र जीवनशैलीको व्यवस्थापनमा ध्यान दिएर मुटु जोगाउन सन्देश छर्दै शनिवार ताप्लेजुङमा विश्व मुटु दिवस मनाईएको छ ।
नेपाल ह्रृदय रोग निवारण संस्था ताप्लेजुङ शाखाले फुङलिङमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोले मुटु बिना सजीव प्राणीको अस्थित्व स्थापित नहुने भएकोले यसको जोगावटमा मानिसले बिशेष ध्यानदिनुपर्ने बताउनुभयो । मेन्याङ्वोले मुटु जोगाउने अभियानका लागि जागरण र पैरवीको जरुरी रहेको र ह्रृदय रोग निवारण संस्था सहितका निकायले मुटु जोगाउन मानिसलाई अपिल गर्ने र सम्बेदनशिल बनाउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर यमन कार्कीले जीवनशैलीमा अपनाउने सहजताले मुटु जोगाउन मद्यत पुग्ने बताउनुभयो । उहाँका अनुसार सन्तुलित आहार,नियमित व्ययाम,धुमपान र मद्यपान सेवनको अन्त्य,रक्तचाँप,मधुमेह र कोलस्ट्रोल नियन्त्रण,तनावमा कमी,पर्याप्त निद्रा,तौलमा सन्तुलन र नियमित स्वास्थ्य जाँचका कारण मुटुलाई स्वस्थ्य राख्न सकिन्छ । तडकभडकयुक्त जीवनशैली र असन्तुलित खानपिन नियन्त्रण गरेमा मुटुलाई जोगाउन खास मेहनेत गर्नु नपर्ने डाक्टर कार्कीको भनाई छ । कार्की
ले शरिरमा चिटचिट पसिना आउने गरी नियमित हिड्ने हो भने पनि मुटुमा देखिएको समस्या न्यूनीकरण हुने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी सहितले आफ्नो धारणा राख्नु भएको थियो । नेपाल ह्रृदय रोग निवारण संस्था ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।