सुकेटारमा दुई महिनापछि उडान सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १० । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण अवरुद्ध हुँदै आएको उडान करिव दुई महिनापछि सुरु भएको हो ।
मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलमा शुक्रबार उडान भएको हो । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमको स्टेसन कार्यालय इन्चार्ज नारायणकुमार कार्कीका अनुसार काठमाडौंबाट १४ जना यात्रु लिएर जहाज आएको हो । यस्तै ताप्लेजुङदेखि भने नौ जना यात्रु बोकेर जहाज काठमाडौं फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले साताको शुक्रबार एकदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने गरेको छ । बर्खायामको समयमा मौसम प्रतिकूल भइदिँदा गत साउन पहिलो सातादेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको थियो । यसबिचमा काठमाडौंबाट ताप्लेजुङका लागि उडेको जहाज तीन÷चार पटकसम्म मौसमका कारण सुकेटारमा अवतरण हुन फर्किएको पनि निगमले जनाएको छ ।
अब भने मौसममा समस्या नआए तालिका अनुसार नै उडान नियमित हुने स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो । यता चाडपर्वको समय र पर्यटकीय मौसममा उडान सुरु भएकाले यात्रु तथा पर्यटन व्यवसायी हर्षित भएका छन् ।