बिद्यमान अवस्थामा स्थगित हुन थाले पूर्व निर्धारित कार्यक्रम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । देशको बिद्यमान अवस्थामा सार्वजनिक कार्यक्रम गर्न असहज महशुष भएको भन्दै आयोजकहरुले तत्कालका लागि धमाधम कार्यक्रम स्थगित गर्न थालेका छन् ।
चर्चित साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा ताप्लेजुङको फुङलिङमा असोज ६ गते गर्न लागिएको साहित्य उत्सव कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । उक्त कार्यक्रमका संयोजक सागर मादेनले देशको पछिल्लो अवस्था पूर्णतया सामान्य अवस्थामा नफर्किञ्जेलसम्मका लागि असोज ६ गतेका निर्धारित कार्यक्रम तत्काललाई स्थगित गरिएको जानकारी दिनुभयो । यता ङावोरक सङ्जुम्बो फुङ्लेङको आयोजना तथा मन्त्र ब्याण्ड समेतको उपस्थितिमा हुन लागेको लाइभ कन्सर्ट लगभग तत्कालका लागि स्थगित गर्ने तयारी गरिएको छ ।
ङावोरक सङ्जुम्बो फुङ्लेङका एक अगुवा कुलदीप मादेनले बिद्यमान असहज परिस्थतिका कारण कन्सर्टका लागि गर्नुपर्ने तयारीका लागि समय अपुग भएको सहितका कारणबाट उक्त कार्यक्रम असोज २१ मै गर्न कठिन हुने जानकारी दिनुभयो ।‘अवस्था सामान्य भएपछि पूर्ण तयारीका साथ कार्यक्रम गर्ने योजना बनाईरहेका छौं’मादेनले कार्यक्रम स्थगित भएको औपचारिक सूचना प्रेषण गर्ने तयारी भईरहेको बताउँदै भन्नुभयो । ङावोरक सङ्जुम्बो फुङ्लेङका अनुसार सामुदायिक भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न उक्त लाइभ कन्सर्ट गर्न लागिएको थियो । कन्सर्टमा मन्त्र व्याण्ड सँगै ताप्लेजुङकै मातृभूमि ब्याण्डको पनि प्रस्तुति रहने तयारी थियो ।
यता दीपज्योति युवा क्लव पाँचथरको आयोजनामा इलाममा हुने रेडपाण्डा म्याराथन प्रतियोगिता स्थगित भएको छ । असोज ४ गते इलाम चौक बजारबाट सन्दकपुर गाउँपालिकासम्मको ४४.२ किलोमिटर दुरीमा हुने म्याराथन स्थगित भएको दीपज्योति युवा क्लव परियोजना कार्यालय इलामका परियोजना संयोजक राम रिमालले जानकारी दिनुभयो । प्रथम रेडपाण्डा म्याराथन अघिल्लो बर्ष ताप्लेजुङमा भएको थियो । हरेक बर्षको सेक्टेम्बर २० तारेखमा दिन अन्तराष्ट्रिय रेडपाण्डा दिवस मनाइन्छ । उक्त अवसरमा रेडपाण्डा म्याराथन हुन लागेको थियो । यो दिवस अघिल्लो बर्ष असोज ५ गते मनाईएको थियो ।