तालिवानसँग ‘ऐतिहासिक’ शान्तिवार्ता सुरु

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),भदौ २८ । अफगान सरकार तथा तालिवान विद्रोही समूहबीचुको पहिलो प्रत्यक्ष शान्तिवार्ता कतारको राजधानी दोहामा शनिबार सुरु भएको छ । वार्ताको उद्घाटन सत्रमा उपस्थित हुन दोहा पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दुई पक्षबीचको वार्तालाई ‘ऐतिहासिक’ भनेका छन् । फेब्रोअरीमा अमेरिका र तालिवानबीच सुरक्षा समझदारी भएलगत्तै यो वार्ता हुने ठानिएको थियो । तर बन्दीहरूको आदानप्रदानबारेको विवादास्पद समझदारी लागू गर्ने विषयका कारण वार्तामा ढिलाइ भएको हो । जसका कारण त्यसयता पनि अफगानिस्तानमा हिंसा जारी रह्यो । वार्तामा भाग लिन अफगान सरकारको टोली सेप्टेम्बर ११ मा दोहा पुगेको हो । १९ वर्षअघि अमेरिकामा आतंकवादी आक्रमण भएपश्चात् अफगानिस्तानमा तालिवानको शासन अन्त्य भएको थियो । बिहीबार अन्तिम ६ जना बन्दी रिहा भएपछि तालिवान समूह वार्तामा भाग लिन तयार भएको थियो । निकै घातक आक्रमणमा संलग्न ६ जनालाई रिहा गर्ने विषयमा केह देशले कडा आपत्ति जनाएका थिए । खासगरी फ्रान्स र अस्ट्रेलियाले उनीहरूले आफ्ना देशका नागरिकलगायत सहायताकर्मीमाथि निर्मम आक्रमण गरेको बताएका थिए । अफगान सरकारी टोलीका नेता अब्दुल्लाह अब्दुल्लाहले आफूहरूले ‘न्याय र सम्मानपूर्ण शान्ति’ खोजेको बताएका छन् । अब्दुल्लाहले ४२ वर्षदेखिको उथलपुथल साम्य पार्ने समय आएको भन्दै वाक् स्वतन्त्रता तथा महिला अधिकारको सम्मान गरिनुपर्ने जनाए । दशकौंदेखिको द्वन्द्व अन्त्य गर्ने ठानिएको वार्ताको मध्यस्थता अमेरिकाले गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा प्रत्येक व्यक्तिको अधिकार सुरक्षित हुन हिंसाको साङ्लो तोडिनुपर्ने बताएका छन् । पोम्पियोले वार्ता टोलीका सहभागीलाई आफ्नोबारे मात्र नभई आगामी पुस्ताबारे सोच्न सुझाव दिएका बीबीसीले उल्लेख गरेको छ । उनले शान्तिवार्ताले अफगान नागरिकलाई निर्भरताको जन्जीरबाट समेत फुत्काउने अपेक्षा गरिएको बताए । तालिवान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरले ‘आफ्नो समूहले अफगानिस्तानलाई सबै जातजातिहरू प्रेम र भाइचाराका रूपमा बस्न सक्ने इस्लामिक प्रणालीसहितको स्वतन्त्र देशको रूपमा हेर्न चाहेको’ बताएका छन् । ‘वार्ताका क्रममा समस्याहरू आउन सक्छन् तर हामीले धैर्यता राख्दै अगाडि बढ्नुपर्छ,’ उनले भने । दोहामा शनिबार भएको भेट अफगान सरकार तथा तालिवान प्रतिनिधिबीचको पहिलो प्रत्यक्ष भेट हो । हालसम्म तालिवान विद्रोहीहरूले अफगान सरकार शक्तिहीन तथा अमेरिकाको कठपुतली भएको बताउँदै वार्ता गर्न अस्वीकार गर्दै आएका थिए । वार्ता सुरु गरेका दुई पक्षले सन् १९७९ मा सोभियत अतिक्रमणपश्चात्को दशकौं लामो हिंसालाई राजनीतिक मेलमिलापमार्फत अन्त्य गर्ने उद्देश्य राखेका छन् । अफगान सरकार र तालिवानबीच मार्च महिनामै वार्ता सुरु हुने भनिएको भए पनि बन्दी आदानप्रदानसम्बन्धी विवादका कारण स्थगित भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts