अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस १६ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए । सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ । एक डोजको मूल्य दुई देखि तीन पाउण्डसम्म पर्ने सक्ने समाचार माध्यमले जनाएका छन्। उक्त खोप पनि फाइजर- बायोएनटेक जस्तै प्रतिव्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ । हाल बेलायतलगायतका विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरूपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड/एस्ट्राजेनेकाको १० करोड डोज खोप अर्डर गरिसकेको छ, जसमध्ये ४ करोड डोज सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ । बेलायत सरकारले फाइजर-बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजार भन्दा बढीले फाइजर खोप लगाइसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts