|

एमाले ताप्लेजुङको पार्टी कार्यालय तोडफोड

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २४ । सोमबारदेखि आन्दोलनमा उत्रेको जेनजी समूहले नेकपा (एमाले) ताप्लेजुङको पार्टी कार्यालय तोडफोड गरेको छ । मंगलबार बेलुका सदरमुकाम फुङ्लिङस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा सो समूहले तोडफोड गरेका हुन् ।
सामाजिक सञ्जाल बन्द गरेको विरोध र भ्रष्टाचारविरुद्ध आन्दोलन सुरु गरेकै दिन सोमबार १९ जनाको मृत्यु हुनेगरी प्रहरीले गरेको दमनकाविरुद्ध दिउँसो फङ्लिङ बजारमा जेनजी पुस्ताले प्रदर्शन गरेका थिए । आन्दोलनमा मृत्यु भएकाहरुप्रति साँझ वीरेन्द्रचौकमा भेला भएर दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका सो समूहले बेलुका करिव ८ बजेतिर एमाले पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।
पराजुली चौकस्थित बजारबिचमा रहेको एमाले जिल्ला पार्टी कार्यालय तोडफोडमा उत्रेका युवा समूहले आगजानी गर्ने प्रयास गरेको भए पनि नजिकै अन्य घरहरु भएका कारण सम्भव नभएको बुझिएको छ । पार्टी कार्यालयका झ्याल ढोका, सिसा, कुर्सी, टेबल, दराज, कागजात लगायतका सामग्री नष्ट गरेका छन् । जेनजी पुस्ताका युवा समूहले पार्टी कार्यालय तोडफोड गरिरहँदा जिल्ला प्रहरी कार्यालय नजिकै रहे पनि प्रहरीसहित सुरक्षाकर्मीको उपस्थिति देखिएको थिएन ।

Similar Posts