| |

कञ्चनजंघा क्षेत्रमा भदौमै हिमपात

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यसवर्ष भदौ महिनामै हिमपात भएको छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार कञ्चनजंघा हिमालको आधार शिविर क्षेत्रमा निकै बाक्लो हिमपात भएको हो ।
मौसममा आएको प्रतिकूलतासँगै कञ्चनजंघा क्षेत्रमा हिमपात हुन थालेको पर्यटन व्यवसायी बताउँछन् । कञ्चनजंघा आधार शिविर लोनाक क्षेत्रमा होटल सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाका अनुसार गत सोमबारदेखि हिमपात सुरु भएको छ । समुद्री सतहदेखि चार हजार ७८० मिटर उचाइ रहेको लोनाक क्षेत्रमा निकै बाक्लो हिउँ परेको शेर्पाले बताउनुभयो ।
फक्ताङ्लुङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार गएको साताको सोमबारयता कञ्चनजंघा क्षेत्रमा सामान्य हिमपात भइरहेको छ । भदौ महिनामै अर्थात पर्यटकीय मौसम सुरु हुने बेलामा हिमपात हुँदा कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई असर पुग्ने शेर्पाले बताउनुभयो । पछिल्लो एक सातायता मौसममा सुधार नआएको अर्थात नखुलेको उहाँको भनाइ छ ।
अहिले पनि मौसम बदली नै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार मौसम धुमिएर सामान्य पानी परिरहेको र घाम नलागेर मौसम पूर्णरुपमा नखुलेको अवस्था रहेको छ । सेप्टेम्बरयता कञ्चनजंघा भ्रमण गर्ने पर्यटकको फाट्टफुट्ट आगमन सुरु भएको उहाँले बताउनुभयो । हाल बदली रहेको मौसममा सुधार नआए पर्यटकहरु प्रभावित हुने उहाँको भनाइ छ ।
कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि भदौ १५ पछि अर्थात सेप्टेम्बरयता आठ जना विदेशी पर्यटक आइसकेका शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजंघा क्षेत्रअन्तर्गत सात हजार ७१० मिटर उचाइ रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि फ्रान्सबाट दुई जना पर्यटक आएका छन् । यस्तै कञ्चनजंघा भ्रमणका लागि फ्रान्सका अन्य दुई जना, अमेरिकाका दुई र इटालीका दुई जना पर्यटक आएका उहाँले बताउनुभयो ।
उहाँका अनुसार स्वदेशी पर्यटक पनि कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउन थालेका छन् । कञ्चनजंघा क्षेत्रअन्तर्गत नै फक्ताङ्लुङ दर्शनका लागि बाक्लै सङ्ख्यामा धार्मिक पर्यटकहरु आउन थालेका उहाँले जानकारी दिनुभयो । कञ्चनजंघा हिमाल आरोहण तथा यस क्षेत्रको भ्रमण गर्ने मुख्य सिजन (मौसम) असोज र कात्तिक महिना भए पनि भदौदेखि नै विदेशी तथा स्वदेशी पर्यटकहरु आउन थाल्दछन् ।

Similar Posts