सिन्धुपाल्चोकमा फेरि विपद् ः पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २८ । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताउनुभयो । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो । उहाँले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताउनुभयो । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो । बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts