स्थानीय प्रशासनद्धारा इलाका प्रशासन कार्यालय स्थापना हुने तेल्लोक क्षेत्र निरीक्षण,स्थानीय सरकारसंग अन्तरक्रिया

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २२ । स्थानीय प्रशासनले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा स्थापना हुने इलाका प्रशासन कार्यालयकाबारेमा स्थलगत अनुगमनसंगै सरोकारवालासंग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको नेतृत्वमा तेल्लोक पुगेको टोलीले सिरिजङ्गा गाउँपालिकाका पदाधिकारी तथा प्रशासनिक नेतृत्वसंग छलफल गरेको हो । प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिम समेत उक्त छलफल कार्यक्रममा सहभागी हुनु भएको थियो । बोखिमको जन्मघर सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचा हो । प्रमुख जिल्ला अधिकारी सेढाईँले स्थानीय प्रशासनले इलाका प्रशासन कार्यालय स्थापना हुने क्षेत्र,सुरक्षा सम्बेदनशिलताको अध्ययन र सम्वन्धित पालिकासंगको सहकार्य र समन्वय बारे अध्ययन तथा सम्बाद गरेको जानकारी दिनुभयो । स्थानीय प्रशासनसंग सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे,बिभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्यहरुले समन्वय,सहयोग र सहकार्यको बचन दिनु भएको छ ।
पालिका अध्यक्ष चौहानले भौगोलिक हिसावले विकट र दुर्गम मानिने सिरिजङ्गा र सिदिङ्वा गाउँपालिका सहितका सेवाग्राहीलाई सुलभता प्रदान गर्न तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने नेपाल सरकारको निर्णयले आफुहरुलाई उत्साही तुल्याएको बतानुभयो ।‘आम नागरिकको मागलाई सम्बोधन हुनेगरी इलाका प्रशासन कार्यालय स्थापना गर्नेगरी सरकारले गरेको निर्णय हामी सबैका लागि खुसी र गौरवको बिषय हो’पालिका अध्यक्ष चौहानले भन्नुभयो । पालिका उपाध्यक्ष मावो लिम्बूले इलाका प्रशासन कार्यालय स्थापनाको निर्णयले प्राप्त भएको खुुसी यसको स्थापना,सञ्चालन र निरन्तरता पछि थप उमंगित हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सेढाईँले स्थापना हुने इलाका प्रशासन कार्यालयलाई गर्नुपर्ने आवश्यक सहयोग र समन्वयका बारेमा स्थानीय सरोकारवालासंग छलफल भएको र छलफलका क्रममा सरोकारवालाले आफुहरुले सक्दो सहयोग गर्ने बचन दिएको जानकारी दिनुभयो । यसअघि इलाका प्रशासन स्थापनाका लागि गृह मन्त्रालयले आवश्यक गृहकार्य चालिरहेका बेला तत्कालिन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले समेत इलाका प्रशासन कार्यालय स्थापना हुने सम्भावित क्षेत्रको निरीक्षण गरेको थियो ।
तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सो क्षेत्रका सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता सहितका सेवा प्रवाह तेल्लोकबाटै प्रवाह हुने छ । सिरिजङ्गा र सिदिङ्वा बाहेक सुरुमा पाथीभरा याङवरक गाउँपालिकाको सिरिजङ्गा सीमा क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह हुने भनिएकोमा उक्त पालिकाको क्षेत्र भने निक्र्योल हुन बाँकी रहेको स्थानीय प्रशासन कार्यालयले जनाएको छ ।
ताप्लेजुङका तेल्लोक र दोभानमा इलाका प्रहरी चौकी तथा तेल्लोक र मैवाखोलाको ढुङ्गेसाँघुमा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । निरीक्षण टोलीमा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक तथा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढई समेत सहभागी हुनु भएको थियो । नेपाल सरकारले भदौ पहिलो सातामात्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका सहित देशभरका २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।