निजामति सेवा दिवसमा फुटबलतर्फ कर्मचारी टिम बिजयी,हाजिरी जवाफमा पाथीभरा याङवरक पहिलो

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । निजामति सेवा दिवसको अवसरमा आयोजित जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम बिजयी भएको छ । जनप्रतिनिधिमाथि कर्मचारी टिम २–० ले बिजयी भएको हो ।

बिजयी टिमका लागि सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक र सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीले १–१ गोल गर्नुभयो । जनप्रतिनिधि टिममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङखिम,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाँवीर हाङगाम,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर काकी,फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा(रविन)सहित वडाध्यक्ष र वडा सदस्य सहितका जनप्रतिनिधि सहभागी हुनु भएको छ । कर्मचारी टिमका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ,सशस्त्र प्रहरी नायव उपरीक्षक पाठक,जिल्लास्थित कार्यालय प्रमुखहरु,पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु,प्रहरी निरीक्षक समेतको सहभागी हुनु भएको छ । बिजयी टिमले खसी उपहार पाएको छ ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले निजामति सेवा दिवसको अवसरमा शनिवार फुटबल,हाँटी फुटाई र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको जानकारी दिनुभयो । आइतवार बिजेता टिमलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिने योजना रहेको कर्मचारी मिलन केन्द्रले जनाएको छ । कर्मचारी मिलन केन्द्रका सचिव तथा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठका अनुसार हाजिरी जवाफतर्फ पाथीभरा याङवरक गाउँपालिकाको टिम पहिलो,सिरिजङ्गा गाउँपालिकाको टिम दोस्रो र मालपोत कार्यालयको टिम तेस्रो भयो । हाजिरी जवाफमा ९ टिम सहभागी थिए । हाँडी फुटाईतर्फ १३ जना सहभागी भएकोमा बिजय शाह बिजेता बनेको कर्मचारी मिलन केन्द्रले जनाएको छ । हरेक बर्षको भदौ २२ गतेलाई निजामति सेवा दिवसको रुपमा मनाईन्छ ।

 

Similar Posts