गुरुङको निधनमा ताप्लेजुङ काँग्रेसद्धारा शोकसभा,पार्टीको झण्डा झुकाईयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । निधन हुनु भएका प्रजातान्त्रिक योद्धा तथा पूर्व मन्त्री सूर्यमान गुरुङको स्मरण गर्दै बिहीबार नेपाली काँग्रेस ताप्लेजुङले शोकसभा  गरेको छ ।

नेपाली काँग्रेस ताप्लेजुङको पार्टी कार्यालयमा शोकसभा सम्पन्न गरिएको नेपाली काँग्रेस ताप्लेजुङका प्रचार विभाग प्रमुख गणेश सिग्देलले जानकारी दिनुभयो । गुरुङको निधनमा उहाँको तस्बिरमा माल्यार्पण समेत गरिएको छ । उहाँको निधन पछि नेपाली काँग्रेस ताप्लेजुङले कार्यालयको झण्डा झुकाएको छ । नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले गुरुङको निधनले काँग्रेस ताप्लेजुङका क्रान्तिका नायक,जिउँदो ईतिहाँसको अवसान भएको भन्दै प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनु भएको छ । गुरुङको निधनले नेपाली काँग्रेस र समग्र ताप्लेजुङ स्तब्ध भएको भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभेच्छा समेत प्रकट गर्नु भएको छ ।

विगत डेढबर्षदेखि बाथ र सुगरले थलिनु भएका गुरुङको बैशाख २५ गते ८४ बर्षको उमेरमा निधन भएको थियो । नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र बिद्रोहको क्रममा ताप्लेजुङ र पाँचथरको कमाण्डर रहनु भएका उहाँ सदरमुकाम फुङलिङस्थित प्रहरीको थाना कब्जामा लिएपछि भूमिगत बन्नु भएको थियो । सो क्रममा उहाँ भारतमा निर्वासनमा रहेको बताइन्छ । भूमिगत जीवनबाट २०२६ सालमा आममाफी पाएर फर्किनु भएका उहाँ त्यसपछि भने सक्रिय राजनीतिमा रहनु भएको थियो ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित उहाँ २०७० सालमा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बन्नु भएको थियो । १० बर्ष नेपाली काँग्रेस ताप्लेजुङको सभापति रहनु भएका उहाँ २०३९ साल देखि २०४६ साल सम्म तत्कालिन जिल्ला पञ्चायतको सभापति समेत हुनु भएको थियो । २०१५ सालको आम निर्वाचनमा तत्कालिन २४ नं निर्वाचन क्षेत्रका संयोजक समेत हुनुहुन्थ्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा ताप्लेजुङको निर्वाचन क्षेत्र नं २ बाट नेपाली काँग्रेसको प्रतिश्पर्धी रहनु भएका गुरुङ २०५६ सालको आम निर्वाचनमा भने ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिश्पर्धी हुनुहुन्थ्यो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत भएका गुरुङ पूर्वी नेपालको काँग्रेसको राजनीतिमा निडर,हक्की र सरल स्वभावका पाका नेता मानिनुहुन्थ्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts