|

सडक मर्मतपछि यातायात सञ्चालनमा सहजता

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १४ । ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज भएको छ । बर्खायाममा क्षतिग्रस्त बनेको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा खण्डमा सडक मर्मत गरिएपछि यातायात सेवा सहज भएको हो ।
सडक मर्मतपछि जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिकाको विभिन्न वडा र पर्यटकीय गन्तव्य फुङ्फुङगे झरनासम्म आउजाउ गर्न सहज भएको छ । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङगामका अनुसार विभिन्न जलविधुत आयोजनाहरुको सहयोगमा सडक मर्मत गरिएको हो ।
वर्षा र झरीका कारण हिलाम्मे भई क्षतिग्रस्त बनेको मेरिङ्देन सडकअन्तर्गत सान्थाक्राको हेल्लुङ्वा–भैरल टर्निङ–याहाङ चौक खण्डमा छ दिन लगाएर सडक मर्मत सम्भारको काम गरिएको वडाध्यक्ष हाङगामले बताउनुभयो । उहाँका अनुसार उक्त सडकखण्ड मर्मतका लागि छ दिनसम्म युनाइटेड मेवाखोला जलविधुत आयोजनाले एउटा एक्साभेटर मेसिन र मेवा डेभलपर्स प्रालिले दुई वटा टिप्पर सहयोग गर्नुभएको थियो ।
यस्तै युनियन जलविधुत आयोजना र माथिल्लो मेवा जलविधुत आयोजनाले ४५० लिटरका दरले इन्धन (डिजेल) सहयोग उपलब्ध गराउनुभएको छ । यातायातका साधन सञ्चालन गर्नलाई कठिनाइ हुनेगरी क्षतिग्रस्त अर्थात हिलाम्मे भएको सडक मर्मत गरेपछि शुक्रबारदेखि सञ्चालनमा आएको छ । सडक मर्मतपछि ठूला ट्रक, टिप्पर मात्र नभई साना हलुका सवारी साधनसमेत सञ्चालन हुन थालेका लिङ्तेपका वडाध्यक्ष हाङगामले जानकारी दिनुभयो ।
मेरिङ्देन सडक सहज रुपमा सञ्चालनमा आएपछि मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका विभिन्न वडासम्म यातायात सुविधा सहज भएको छ । त्यस्तै फुङ्फुङगे झरनाको भ्रमण तथा अवलोकन गर्न जाने र पर्यटकीय गन्तव्य पापुङको लोदेन क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई समेत यात्रामा सहज भएको मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर) को भनाइ छ ।

Similar Posts