सम्पादक अधिकारी नगद सहित पुरस्कृत

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २ । पाथीभरा क्षेत्र विकास समितिले उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीसहित दुईपत्रकारका साथ पाथीभरा क्षेत्रको प्रचार र प्रवद्र्धनमा सक्रिय व्यक्तित्वलाई नगद सहित सम्मान गरेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार पाथीभरा क्षेत्रको प्रचार एवम् प्रवद्र्धनमा सक्रिय पत्रकार अधिकारी तथा रेडियो तमोरका स्टेशन म्यानेजर कृष्ण फुरुम्बु लिम्बूलाई पुरस्कृत गरिएको हो । अधिकारी र फुरुम्बोलाई जनही नगद ११ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । आफ्ना ठूलोबुबाको मृत्यु संस्कारमा सहभागी हुन अधिकारी जिल्ला बाहिर रहेकोले उहाँ कार्यस्थलमा फर्किए लगत्तै क्षेत्र विकास समितिले एक समारोहबिच अधिकारीलाई नगद पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्ने क्षेत्र विकास समितिले जनाएको छ ।

२०५६ सालदेखि बिराटनगरबाट पत्रकारिता आरम्भ गर्नु भएका अधिकारी २०५८ साल देखि ताप्लेजुङमा क्रियाशिल रहनु भएको छ । अधिकारी पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष हुनुहुन्छ । नागरिक दैनिकको जिल्ला सम्बाददाताको रुपमा लामो समयदेखि कार्यरत अधिकारी नेपाल नेत्रज्योति संघ सहितका सामाजिक संस्थामा समेत आवद्ध हुनुहुन्छ । फुरुम्बु रेडियो तमोर बाहेक हिमालयन् टेलिभिजनमा समेत कार्यरत रहनु भएको छ । उहाँ पत्रकार महासंघ ताप्लेजुङका सचिव समेत हुनुहुन्छ । फुरुम्बुले उज्यालो पोष्ट दैनिकबाट पत्रकारिताको सुरुवात गर्नु भएको हो । उज्यालो पोष्ट दैनिक जिल्लाको एकमात्र दैनिक पत्रिका हो ।

क्षेत्र विकास समितिले पत्रकारद्धय अधिकारी र फुरुम्बोबाहेक विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ । जसमा पूर्वमन्त्री मणि लामा,पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ,अग्रज व्यक्तित्व ताराबिर थापा र पुण्यप्रसाद पौडेल,लेखक राजेश्वर थापा,गीत तथा सङ्गीतकार अनिल खड्का,फोटोग्राफर हर्कराज गुरुङ, यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा लगायत रहेका छन् ।

Similar Posts