|

फुङ्लिङमा डेढ सातादेखि इन्टरनेटमा समस्या

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ २६ ।
ताप्लेजुङको सदरमुकाममा सञ्चालित एडीएसएल इन्टरनेट सेवामा करिव डेढ सातादेखि समस्या आउँदा सेवाग्राही मारमा परेका छन् । नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङद्वारा सदरमुकाम फुङ्लिङमा वितरीत एडीएसएल सेवामा समस्या आएको हो ।
एडीएसएल सेवामा समस्या आउँदा इन्टरनेटका प्रयोगकर्ताहरुले अहिले हैरानी खेप्दै आएका छन् । कुनैबेला एडीएसएलको सर्भर जाने र सर्भर चलेपनि इन्टरनेटको कुनै काम नहुने भएकाले प्रयोगकर्तालाई हैरानी हुँदै आएको हो । एडीएसएल इन्टरनेटमा समस्या आएपछि सेवाको प्रयोगकर्ता अर्थात सेवाग्राहीका रुपमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयसमेतको कार्य सम्पादनमा प्रभाव परेको छ ।
यस्तै सञ्चार क्षेत्र, कम्प्युटर इन्स्टिच्युट, सूचना प्रविधिसँग सम्बन्धित तालिम केन्द्र तथा सेवा प्रदायक निकायहरु सबै क्षेत्रमा एडीएसएल समस्याको प्रभाव परेको छ । प्रभावकारी र गुणस्तरीय एडीएसएल सेवा नभएपछि इन्टरनेटको उपयोगले मात्र हुने अधिकांस सेवा प्रभावित भएको सम्बन्धित कार्यालयहरुले जनाएका छन् । एडीएसएलमा समस्या आएसँगै इन्टरनेटको सहज उपलब्धता नहुँदा विगतको तुलनामा १५ प्रतिशत पनि काम नहुने गरेको सरकारी कार्यालयहरुले जनाएका छन् ।
नेपाल टेलिकमबाहेक निजी सेवाप्रदायकले सञ्चालनमा ल्याएको सुविसु, वर्ड लिङ्क लगायतको इन्टरनेट सेवा प्रभावकारी नभएको प्रयोगकर्ताले बताएका छन् । यता एडीएसएल इन्टरनेट सेवामा आएको समस्याबारे कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ र नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई ध्यानाकर्षणपत्र बुझाउँदै जिल्लामा गुणस्तरीय र प्रभावकारी इन्टरनेट सेवा सञ्चालन गर्ने व्यवस्थाका लागि पहल गरिदिन क्यान महासंघ र पत्रकार महासंघले आग्रह गरेका छन् । नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङमा लामो समयदेखि कार्यालय प्रमुखसहित दक्ष जनशक्तिको पद रिक्त रहेकाले पनि टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवामा समस्या हुने गरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षणपत्र प्रमुख जिल्ला अधिकारीमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्म पुग्नेगरी बुझाएको क्यान महासंघका जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेहुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु, नेपाल दूरसञ्चार क्षेत्रीय कार्यालय विराटनगर र इलामस्थित नेपाल दूरसञ्चार कार्यालयलाई बोधार्थ दिई ध्यानाकर्षण गराइएको छ ।
यता ध्यानाकर्षणपत्र बुझ्नुहुँदै प्रजिअ चापागाईंले आफ्नो ठाउँबाट तत्काल पहल थाल्ने बताउनुभयो । इन्टरनेट समस्याका कारण प्रशासन कार्यालयमा पनि द्रूत र प्रभावकारी काम हुन नसकेको बताउँदै उहाँले समस्या समाधानका विषयमा सम्बन्धित निकायलाई अवगत गराउने साथै जानकारी लिने पनि बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts