भिन्तुनाडाँडा सहिद पार्क क्षेत्रमा वृक्षारोपण

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २३ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको भिन्तुनाडाँडा सहिद पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको उक्त क्षेत्रमा शुक्रबार वृक्षारोपण गरिएको हो ।
योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ताप्लेजुङको अगुवाइमा भिन्तुडाँडा, सहिद पार्क, मुधिङ कोक्मा (बल्ने ढुङ्गाको डाँडा) पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ । ‘श्रम तथा उत्पादनमा वाइसिएल’ नारासहित सुरु भएको दुई महिने अभियानअन्तर्गत वृक्षारोपण गरिएको वाइसिएलका केन्द्रीय सचिवालय सदस्य कैलास माबो लिम्बूले जानकारी दिनुभयो ।
उहाँकाअनुसार तेजपत्ता र मयुरपंखी सल्लाको बिरुवा रोपिएको छ । सदरमुकाम नजिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको भिन्तुनाडाँडा, सहिद पार्क, मुधिङ कोक्मा पार्कभित्र रहेको पदमार्गको दायाँबायाँ क्षेत्रमा उक्त बिरुवा रोपिएको वाइसिएलका जिल्ला अध्यक्ष सन्जिप माबोले बताउनुभयो । अध्यक्ष माबोका अनुसार सो क्षेत्रमा करिव आठसय वटा बिरुवा रोपिएको छ ।
पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको क्षेत्रको थप सौन्दर्यीकरण तथा आकर्षक बनाउनमा टेवा पु¥याउने गरी मयुरपंखीजस्ता प्रजातिको बिरुवा रोपिएको वाइसिएलले जनाएको छ । वृक्षारोपणमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, जिल्ला संयोजक विष्णुकुमार लिम्बू, सचिव सागरमणि गौतमसहित पार्टी र वाइसिएलका नेता, कार्यकर्ता गरेर करिव एकसय जना सहभागी भएका थिए ।