ताप्लेजुङमा श्रमदान अभियानलाई निरन्तरता दिँदै माओवादी

-अनिता पन्दाक
ताप्लेजुङ, साउन २१ । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको छ । सार्वजनिक तथा व्यक्तिगत स्वमित्वका काममा माओवादी केन्द्रले श्रमदान अभियान चलाई रहेको हो ।
हालसम्म अधिकांस कृषिसँग सम्बन्धित काममा माओवादीले श्रमदान अभियान चलाउँदै आएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) का अनुसार अलैँची, कोदो, धान रोप्न लगायतका काममा श्रमदान गरिँदै आएको छ । हरेक महिना एक दिन श्रमदान गर्नेगरी योजना बनाएर श्रमदान गर्दै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
माओवादीको जिल्ला, पालिका र वडा तहका कमिटी तथा सहायक संगठनको रुपमा रहेको योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायत भातृ तथा जनवर्गीय संगठनको अगुवाइमा श्रमदान गर्ने गरिएको छ । फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तह र वडाहरुमा माओवादीले श्रमदान अभियान चलाउँदै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार अहिलेको मौसमी काम अर्थात कृषिसँग सम्बन्धित कामहरु गरिँदै आएको छ । अभियानकै क्रममा माओवादी सम्वद्ध किसान महासंघ (क्रान्तिकारी) को अगुवाइमा फुङ्लिङ नगरपालिका–४ मा श्रमदानमार्फत कोदो रोप्ने काम गरिएको छ । स्थानीय भक्त येङ्देनको बारी (जमिन) मा कोदो रोपिएको हो । यस्तै फुङ्लिङ नगरपालिका–३ का देवीमाया पालुङ्वाको धान खेती लगाउने खेतमा श्रमदान गरिएको छ ।
फुङ्लिङ नगरपालिका–९ की फूलमाया गुरुङको अलैँची खेतीको काममा श्रमदान गरिएको छ । किसान महासंघकै अगुवाइमा अलैँची खेतीअन्तर्गत एक हजार ५०० वटा अलैँचीको बिरुवा रोपिएको छ । त्यस्तै सिरिजंघा गाउँपालिकाको वडा ४ तेल्लोक, वडा ५ पेदाङ र वडा ६ मामाङ्खेमा वृक्षारोपण गर्न श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ । पेदाङमा दुई हजार ५०० वटा, तेल्लोक र मामाङ्खेमा समान ५००–५०० वटा बिरुवा रोपिएको छ ।
यस्तै फुङ्लिङ नगरपालिका–२ मा ३०० वटा र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न वडामा दुई हजार वटा बिरुवा रोपिएको छ । सिदिङ्वा गाउँपालिकास्थित पर्यटकीय गन्तव्य ढङ्ढङगे झरना रहेको क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षारोपण र पदमार्ग सरसफाई गरिएको छ । व्यक्तिको स्वमित्व रहेको र विद्यालय परिसर, पदमार्गजस्ता सार्वजनिक स्थानहरुमा वृक्षारोपण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो ।
संयोजक लिम्बूका अनुसार कागती, अमला, अम्बाक, तेजपत्ता, सिरिस र सल्ला प्रजातिका बिरुवाहरु रोपिएका छन् । हालसम्म रोपिएकामध्ये एक हजार ८०० बिरुवा पार्टीले खरिद गरेको र बाँकी डिभिजन वन कार्यालय ताप्लेजुङले उपलब्ध गराएको लिम्बूले जानकारी दिनुभयो । यता माओवादी केन्द्र ताप्लेजुङले सुरु गरेको श्रमदान अभियानलाई निरन्तरता दिइने केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिनुभयो । मासिक एक दिन श्रमदान अभियान चलाउने योजनालाई जिल्लाका नौवटै स्थानीय तहमा कार्यान्वयन हुने र क्रमशः अभियानको कार्यान्वयन सुरु भएको पनि उहाँको भनाइ छ ।
मंगलबार पनि वाइसिएलको आयोजनामा सुकेटार–देउराली–फावाखोला–सिकैँचा–तेल्लोक कञ्चनजंघा सडकको फावाखोला–कुञ्जारी खण्डमा मर्मत तथा सरसफाई गरिएको छ । यस्तै सिकैँचाममा मयरपंखी जातको सल्लाको बिरुवा पनि रोपिएको वाइसिएलका जिल्ला अध्यक्ष संजिप माबोले जानकारी जानकारी दिनुभयो ।