२२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । ताप्लेजुङस्थित काबेली खोलाबाट मंगलवारदेखि करिव २२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ ।

सिरिजङ्गा गाउँपालिका वडा नं ५,६ र ७ भएर बग्ने काबेली खोलास्थित काबेली हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रर्वद्धित काबेली–३ क्यास्केडबाट उत्पादित २१.९३ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । आयोजना २०७९ साल माघ ५ गतेबाट सुरु भएको थियो । आयोजनाबाट उत्पादन भएको विद्युत पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं १ अमरपुर दुबिचौरस्थित नेपाल विद्युत प्राधिकरणको १ सय ३२ केभिए विद्युत सवस्टेशनमा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको जनसम्पर्क अधिकृत ढुङ्गानाले बताउनुभयो ।

आयोजनाको मुख्य हेडरेस टनेलको कुल लम्बाइ ५ हजार १ सय ४०.२ मिटर लम्बाईको रहेको छ । आयोजनाको विद्युतगृह सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङस्थित खोलाखेतमा निर्माण गरिएको छ । इन्टेक भने सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङस्थित ओथाम रहेको छ । पानी थिगार्ने अडिट नं १ सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङस्थित भाङटारमा २ सय १६ मिटर लम्बाई र अडिट नं २ मा सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङस्थित सिबुवादिनमा ३ सय ९६ मिटर लम्बाईको सुरुङमार्गमा रहेको छ । आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख १ हजार रुपैयाँ रहेको छ । कुल लागतमध्ये २५ प्रतिशत स्वपूँजीबाट र ७५ प्रतिशत एनएमबि बैंक लिमिटेडको नेतृत्वमा प्रभु बैंक लिमिटेड तथा नविल बैंक लिमिटेडबाट ऋण लगानीका उपलब्ध भएको आयोजनाले जनाएको छ ।

 

 

Similar Posts