रेडपान्डा संरक्षणमा झण्डै डेढ करोड खर्च गरिँदै

-प्रयास लिम्बू
ताप्लेजुङ, साउन १९ । ताप्लेजुङमा रेडपान्डा (हाब्रे) संरक्षणमा झण्डै डेढ करोड रुपियाँ खर्च गरिने भएको छ । विश्वमै दूर्लभ मानिएको रेडपान्डाको संरक्षणमा हिमाली संरक्षण मञ्चले उक्त रकम खर्च गर्ने भएको हो ।
हिमाली संरक्षण मञ्चले सदरमुकाम फुङ्लिङमा सोमबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आयोजना गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गर्ने बजेट तथा कार्यक्रमबारे जानकारी दिएको हो । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार चालु आवमा कुल एक करोड ४३ लाख ४८ हजार ८२६ रुपियाँ रेडपान्डा संरक्षणको क्रियाकलापमा खर्च गरिने भएको छ ।
कुल रकममध्ये दुर्लभ रेडपान्डा संरक्षणका लागि आधार रेखा (बेस लाइन) सर्वे कार्यमा चार लाख सात हजार २८ रुपियाँ, नियमित रेडपान्डा अध्ययन कार्यमा सात लाख सात हजार ५०० रुपियाँ खर्च गरिने छ । यस्तै रेडपान्डा अनुगमन ब्लक रेखांकनमा ९२ हजार ५०० रुपियाँ, रेडपान्डासम्बन्धी वातावरण संरक्षण शिक्षा स्थानीय पाठ्यपुस्तक व्यवस्थापनमा दुई लाख ५२ हजार रुपियाँ खर्च गरिने मञ्चका कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो ।
चोरी सिकारी तथा चोरी निकासी न्युनीकरण अनुगमनमा एक लाख ४६ हजार ४०० रुपियाँ, रेडपान्डा संरक्षण लक्षित बिरुवा उत्पादन, पुरानो नर्सरी व्यवस्थापन तथा वृक्षारोपणमा सबैभन्दा बढी ३८ लाख ६३ हजार ४० रुपियाँ खर्च गरिने भएको छ । त्यस्तै सामुदायिक वन क्षेत्रमा पानीको मुहान संरक्षण कार्यका लागि एक लाख आठ हजार रुपियाँ, विद्यार्थीलाई वितरण गर्ने संरक्षण पुरस्कारका लागि पाँच लाख २९ हजार ५०० रुपियाँ बजेट विनियोजन गरिएको छ ।
रेडपान्डा संरक्षणमा योगदान पु¥याउँदै आएका वन अभिभावकहरुलाई तालिम प्रदान गर्न दुई लाख ५० हजार ८०० रुपियाँ, घरपालुवा तथा सामुदायिक कुकुरलाई रेविज खोप तथा भिटामिन कार्यक्रमका लागि दुई लाख ४९ हजार ५०० रुपियाँ बजेट विनियोजन गरिएको छ । यसैगरी यसअघि निर्माण गरिएको हिमालयन हाब्रे केन्द्र व्यवस्थापनअन्तर्गत सोलार बत्ती, सिसि क्यामरा जडान, स्टाफ कटेज निर्माण् लगायतमा ३२ लाख ४८ हजार ७१८ रुपियाँ रकम रहेको छ ।
बाँकी बजेट कर्मचारी तलबभत्ता, कार्यालय व्यवस्थापन लगायतका विभिन्न शीर्षकमा रकम खर्च गरिने मञ्चका कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । यता बैठकमा दुर्लभ रेडपान्डाको संरक्षण कार्यका लागि परिणाममुखी काम गर्नुपर्नेमा परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जोड दिनुभयो ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले अवैध चोरी सिकार हुने गरेका कारण रेडपान्डा संरक्षणमा चुनौती रहेको बताउँदै त्यस्तो अवस्थालाई नियन्त्रण गर्न रेडपान्डा तथा वन संरक्षणमा प्रभावकारी काम गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि रेडपान्डा पाइने क्षेत्र कञ्चनजंघा संरक्षण क्षेत्रमा बेलाबखत चोरी सिकारीले राखेको पासोहरु भेटिने गरेकाले संरक्षणकर्मी तथा रेडपान्डा संरक्षणमा क्रियाशील संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले हिमाली संरक्षण मञ्चले गर्ने चोरी सिकारी नियन्त्रण, अनुगमन तथा निरीक्षणका कार्यक्रममा प्रहरीलाई पनि समावेश गर्न सुझाव दिनुभयो । यता रेडपान्डा संरक्षणको क्रियाकलापमा मोटो रकम खर्च गरिँदै आए पनि तथ्यांकीय रुपमा रेडपान्डाको सङ्ख्या र अवस्थाबारे प्रगति कम देखिएकोभन्दै सहभागीले विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा गएको आवमा भएका गतिविधिबारे समीक्षासमेत गरिएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये आठराई त्रिबेणी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा रेडपान्डा संरक्षणसम्बन्धी क्रियाकलाप हुँदै आएको हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले जानकारी दिनुभयो । रेडपान्डा संरक्षणका विषयमा सरोकारवालाले दिएको सल्लाह, सुझावअनुसार कार्यक्रम कार्यान्वयन गर्न पहल गरिने अध्यक्ष लिम्बूले बताउनुभयो ।