ताप्लेजुङको उत्तरी क्षेत्रमा घरमै बसेर पढ्न पाउने योजनाको विकास

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ ५ । तत्कालै शिक्षण संस्था सञ्चालन हुन सक्ने अवस्था नदेखिएपछि हिमाली जिल्ला ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रहरुमा घरमै बसेर पढ्न पाउने योजनाको विकास गरिएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले नेपाल सरकार,शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा समूहसंगको समन्वय र सहकार्यमा यस्तो योजनाको विकास गरेको हो । यस क्रममा सामुदायिक बिद्यालयहरुका बाल कक्षा देखि कक्षा ५ सम्मका बिद्यार्थीका लागि स्व–अध्ययन पाठ्यसामग्रीको विकास गरिएको छ । सो भन्दा उभोंका बिद्यार्थीका लागि ‘शिक्षक–बिद्यार्थी घरदैलो अभियान’सञ्चालनमा ल्याईएको छ । बिद्यालय सञ्चालन नभएको अवस्थामा बिद्यार्थीको मनस्थितिलाई अध्ययन भन्दा बाहिर जान नदिन बैकल्पिक शिक्षण सिकाईका लागि यस्तो अभियान सञ्चालन गरिएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो । स्व–अध्ययन सामग्रीमा बाल कक्षा देखि ५ कक्षा सम्मका बिद्यार्थीको पाठ्यपुस्तकमा आधारित प्रश्नका आधारमा उत्तर लेख्न सक्ने गरी पाठ्यसामग्री तयार पारिएको छ । नेपाली,सामाजिक,अंग्रेजी,गणित र बिज्ञान बिषय समेटेर तयार पारिएको स्व–अध्ययन सामग्रीका आधारमा बिद्यार्थीले घरमै बसेर पढ्न सक्ने वातावरण तयार गरिएको पन्तले बताउनुभयो । स्व–अध्ययन सामाग्रीको प्रयोगको सहजीकरणका लागि स्थानीय शिक्षकलाई जिम्मेवारी दिईएको छ । स्व–अध्ययन सामाग्रीको उपयोगिताको मूल निगारानी सम्वन्धित बिद्यार्थीका अभिभावकले गर्न हुने छ । स्व–अध्ययन सामाग्रीमा भएका कुनै जिज्ञासाको समाधान घरका अभिभावकबाट हुन नसके त्यसको सहजीकरणका लागि टोल नजिक रहेका शिक्षक टुप्लुक्क बिद्यार्थीकै घरमा पुग्नु हुने छ । व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेपछि बढीमा ५ जना सम्म बिद्यार्थीलाई एकै ठाउँमा राखेर पनि बिद्यार्थीले सोध्न चाहेको जिज्ञासाको समाधान गर्ने प्रणालीको विकास गरिएको रिड नेपालले जनाएको छ ।

स्व–अध्ययन सामग्री पढाईका लागि सहजीकरण गर्दै रिड नेपालका प्रतिनिधि र स्थानीय शिक्षक

अभियानका लागि अधिकाँस अभिभावकले रुची राखेको र बिद्यार्थीका लागि घरमै बसेर पढ्न पाउने व्यवस्था समेत भएकोले यो अभियान प्रभावकारी हुने रिडको बिश्वास छ ।‘स्व–अध्ययन सामग्रीको सहि उपयोग भए÷नभएको बारे अभिभावकबाटै अनुगमन हुने र अभिभावकबाट बिद्यार्थीको जिज्ञासाको समाधान हुन नसके स्थानीय शिक्षकले सहजीकरण गर्ने संयन्त्रको विकास भएकोले यसको उपयोगितामा खासै शंका गर्ने ठाउँ रहदैन’रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तले भन्नुभयो । बिद्यालयमा पढाई हुने सबै बिषयको पाठ्यसामग्रीलाई एउटै पुस्तिकामा राखेर स्व–अध्ययन सामग्री तयार भएकोले बिद्यालय सञ्चालन नभएको अवस्थामा बिद्यार्थीका लागि यो अभियान प्रभावकारी हुने रिडले ठम्याएको छ । स्व–अध्ययन सामग्रीको सदुपयोग र समस्या बारे रिड नेपालले स्थलगत अनुगमन समेत गर्ने भएकोले समस्या देखिएका क्षेत्रहरुमा तत्कालै समाधानको बिकल्प तयार गर्न सकिने पन्तले जानकारी दिनुभयो । करिव २ महिनाको अवधिलाई लक्षित गरी स्व–अध्ययन सामग्री तयार तयार पारिएको रिडले जनाएको छ । सिरिजङ्घा गाउँपालिकाको खेवाङ,मामाङ्खे र याम्फुदिन तथा फक्ताङ्लुङ गाउँपालिकाको ईखाबु,लेलेप,तापेथोक र ओलाङ्चुङगोलाका करिव १ हजार ६ सय बिद्यार्थीलाई स्व–अध्ययन सामग्रीको ‘बुकलेट’बितरण गरिएको छ ।

एकिकृत रुपमा तयार पारिएको स्व–अध्ययन सामग्रीको बुकलेट बितरण गरिदैं ।

यता कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीका लागि भने रिडले बैकल्पिक सिकाईका २ वटा अवधारणा अघि सारेको छ । पहिलो,दुर शिक्षा रेडियो कार्यक्रम । दोस्रो, शिक्षक–बिद्यार्थी घरदैलो अभियान । तल्ला तहका बिद्यार्थीका लागि दुर शिक्षा रेडियो कार्यक्रम त्यति प्रभावकारी नदेखिएको महशुषका आधारमा स्व–अध्ययन सामग्रीको विकास गरिएको हो । कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीका लागि भने रेडियोबाट हुने पढाईलाई आधार मानेर थप सिकाईका लागि शिक्षक–बिद्यार्थी घरदैलो अभियान सञ्चालनमा ल्याईएको हो । यो अभियानमा बिद्यार्थीलाई पढाउन शिक्षक चाँहि बिद्यार्थीको घरदैलोमा पुुग्नेछन् । बढीमा ५ दिनमा एकदिन पालो पर्नेगरी प्रत्येक शिक्षकलाई बिद्यार्थीको घरदैलोमै पुग्ने व्यवस्था गरिएको रिडले भनेको छ । खटिएका शिक्षकले टोल–टोलमा पुगेर सहजीकरण गर्ने तथा पढाईका आधारमा गृहकार्य दिनु हुने छ । सो गृहकार्य ५ दिन पछि शिक्षकले घर–घरमै गएर परीक्षण गर्ने तथा पृष्ठपोषण दिने र थप गृहकार्य समेत दिने व्यवस्था गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts