पाथीभरा याङवरकले तागेता गर्दापनि असुल उपर नभएको बेरुजुको विवरण सार्वजनिक गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १७ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले तागेता गर्दापनि असुल उपर हुन नसकेको बेरुजुको विवरण नै सार्वजनिक गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२।८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बेरुजु रकम घटाउन यस्तो नीति अघि सारिएको छ । पालिका अध्यक्ष केशरकुमार सुब्बाले बर्षौंदेखि बाँकी रहेको असुल उपर हुनुपर्ने बेरुजु रकम घटाउन बेरुजुको विवरण सार्वजनिक गरेरै भएपनि बेरुजु असुल उपरको कार्यलाई प्रभावकारी बनाउने नीति लिईएको बताउनुभयो । यसका लाथि आवश्यक थप कार्यविधि र निर्देशिका बनाउनुपरे पालिकाले त्यस कार्यको समेत तयारी थालेको जनाएको छ ।

पालिकाले हालसम्म स्वीकृत कानुन,कार्यविधि,निर्देशिका,ऐन,नियम र विनियमहरुको संग्रह पुस्तक समेत प्रकाशित गर्ने भएको छ । कर्मचारीलाई कार्य वातावरण निर्माण तथा मनोवल अभिबृद्धि गर्न आवश्यक प्रवन्ध समेत गर्ने पालिकाको तयारी छ । सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी,प्रभावकारी र जनउत्तरदायी बनाउने तथा जनप्रतिनिधि,कर्मचारी र सेवा प्रवाहसंग सम्वन्धित सरोकारवालालाई सूचना प्रविधि,लेखा प्रणाली,योजना व्यवस्थापन तथा सुशासनसंग सम्वन्धित अनुशिक्षण चलाउने पालिकाले योजना बनाएको छ ।

Similar Posts