साँवा माविमा सुरुभयो जुनियर डिभिजनको एनसिसी तालिम

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ स्थित साँवा माविमा सि.सं ५१ जुनियर डिभिजन राष्ट्रिय सेवा दल(एनसिसी)को तालिम सुरु भएको छ ।
नेपाली सेनाको ताप्लेजुङ फुङलिङस्थित दुर्गा दल गुल्मका गुल्मपति सेनानी बिक्रम खड्काको प्रथम प्रवचन सहित सेवा दलको तालिम सुरु भएको छ । खड्काका अनुसार तालिममा १५ छात्र र १५ छात्रा गरी ३० जना सहभागी छन् । तालिम शुभारम्भ समारोहका मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा सहित बिद्यालयका प्रधानाध्यापक,शिक्षक,बिद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो ।
युवा तथा किशोरहरुलाई अनुशासित बनाउने,युवाहरुमा ईमान्दारिता तथा बफादारिताको भावना विकास गराउने,युवाहरुमा राष्ट्रियताको भावनाको विकास गर्ने, युवाहरुमा नेतृत्व क्षमताको विकास गर्ने, र विपद्को समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउन बिद्यालयतहबाटै जागरण ल्याउने उद्देश्यले तालिमको आयोजना गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।
एकसय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम,नेतृत्व विकास,अनुशासन, जवाफदेहिता,इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिन्छ । यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ ।