आठराई त्रिबेणीको बजेट ५२ करोडको,भूमिहिनलाई जग्गा दिन पालिकाले छुट्टयायो बजेट,कृषि क्षेत्र प्रमुख प्राथमिकतामा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिका भित्र रहेका भूमिहिन,सुकुम्बासीलाई पालिकाले आफैं खरिद गरी जग्गा दिनेगरी नीति तथा कार्यविधि ल्याएको छ ।
२१ औं गाउँसभा अधिबेशनमा सोमवार पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आगामी आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको हो । पालिकाभरी अहिले २९ घर परिवार भूमिहिन तथा सुकुम्बासी रहेको प्रारम्भिक तथ्याङ संकलन भएको छ । छुट भएका भूमिहिनहरुको थप लगत संकलनको समयावधि प्रदान गरेर पालिकाले एकिन तथ्याङक समेत संकलन गर्ने भएको छ ।
पालिका अध्यक्ष पोमूले भूमिहिन र सुकुम्बासी परिवार रहेका वडा क्षेत्रमै जग्गा खरिद गरी बितरण गर्ने पालिकाको योजना रहेको छ । ‘भूमिहिन सम्वन्धी समस्याको समाधान स्थानीय सरकारको एकल अधिकारको रुपमा नरहेपनि कार्यविधिमार्फत व्यवस्थित गरी सुकुम्बासी र भूमिहिन सम्वन्धी समस्या समाधानको पहल लिएका हौं’पालिका अध्यक्ष पोमूले भन्नुभयो ।
पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ राईले सभामा ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँको बजेट पेश गर्नु भएको छ । कुल बजेटमध्ये चालुतर्फ ३३ करोड ७६ लाख ७२ हजार २ सय ५ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ५९ लाख ८१ हजार ७ सय ७५ रुपैयाँ बजेट रहेको छ । पालिका उपाध्यक्ष आङवुहाङले प्रस्तुत गरेको बजेटमा भूमिहिनहरुको समस्या समाधानका लागि ४० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
पालिकाले यसपटक कृषि क्षेत्रको बजेटलाई प्राथमिकता दिएको छ । कृषि क्षेत्रमा झण्डै १ करोड हाराहारी रकम बिनियोजन भएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यमा पालिकाले प्राथमिक चरण पार गरेकोले यसपटक कृषि क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
कफी खेतिको राम्रो सम्भावना भएको र उत्पादन र उत्पादकत्व समेत राम्रो रहेको पालिका क्षेत्रमा कफी खेति प्रवद्र्धन गर्दै किसानको उत्पादन पालिका आफैंले खरिद गरी ब्राण्डिङ गर्ने पालिकाको योजना छ । यसबाहेक कृषितर्फ सन्तोला र कागति सहितका उत्पादन बृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ । पालिकाले केहिसमय अघि गरेको सार्वजनिक सुनुवाईका क्रममा कृषि उत्पादन बृद्धि,भण्डारण र बजारीकरणका लागि किसानले माग गरेका थिए ।
सिचाँई,कृषि प्रविधि व्यवस्थापन सहितलाई ध्यान दिएर नीति र कार्यक्रम बनाईएको पालिकाले जनाएको छ । अघिल्लो बर्ष नीति मात्र बनाएको आठराई त्रिबेणीले आगामी आवमा अन्तरपालिका क्षेत्रबाट आफ्नो पालिकामा बसाँई सरी आउने प्रत्येक घरधुरीलाई नगद ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ ।
पालिकाले पालिका भरीका बासिन्दाका कोहि सदस्यको मृत्यु भएमा पालिकाका पदाधिकारी आफैं उपस्थित भई किरियाखर्च वापत ७ हजार रुपैयाँ रकम उपलब्ध गराउने भएको छ । दुःखमा परेका पालिकाबासीलाई पालिका सरकारकोतर्फबाट सान्त्वना प्रदान गर्न आफैं उपस्थित भई रकम हस्तान्तरण गर्नेगरी बजेटको बिनियोजन भएको पालिकाले जनाएको छ ।
पालिकाले पालिकाका सबै वडामा बर्थिङ सेन्टर,कक्षा १२ सम्मको शिक्षा निःशुल्क,घरायसी प्रयोजनमा प्रयोग भएको विद्युत निःशुल्क गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ । पालिकाले २०८३ भदौ महिना भित्रमा पालिकालाई फुसको छानोमुक्त पालिका बनाउने कार्यक्रमलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । पालिकामा करिव तीनसय परिवार फुसको छानो बिस्थापन अभियानमा समावेश हुने देखिएको छ ।
पालिकाले चालु आर्थिक बर्षबाटै आफ्नै प्रशासकीय भवनबाट सेवा दिनेगरी भाडामा रहेका भवन तथा कक्षका लागि यसअघि छुट्टयाउँदै आएको घरभाडा खर्च कटाएको छ । चालु आवका लागि ३५ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको पालिकाले असार पहिलोसाता सम्ममा करिव ६६ लाख रुपैयाँ असुली गरेको जनाएको छ । चालु आवको अन्त्यसम्ममा पालिकाको आन्तरिक आम्दानी अनुमानको दोब्बर हुने पालिकाको अनुमान रहेको छ ।