| |

ताप्लेजुङका तीन स्थानीय तहको बजेट आज

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ९ । ताप्लेजुङका तीन स्थानीय तहले सोमबार (आज) आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै छन् । जिल्लाको मैवाखोला गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेट (राजस्व र व्यय अनुमान) गाउँ वा नगरसभामा पेस गर्नुपर्दछ । सोही व्यवस्थाअनुसार यहाँका तीन स्थानीय तहले सोमबार आगामी आवको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
तीनवटै पालिका (स्थानीय तह) ले मध्याह्न १२ बजेपछि आ–आफ्नो गाउँसभा तथा अधिवेशन समक्ष आगामी आवको बजेट पेस गर्ने जनाएका छन् । बजेट पेस गर्न लागेको तीन स्थानीय तहमध्ये आठराई त्रिबेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी बजेटसँगै नीति कार्यक्रम पेश गर्न लागेका छन् । मैवाखोला गाउँपालिकाले भने गत जेठ २७ गते नै आगामी आवको नीति कार्यक्रम प्रस्तुत गरी पारितसमेत गरी सकेको छ ।
यता आगामी आवको बजेट सार्वजनिक गर्न लागेका स्थानीय तहले सोमबार अत्यावश्यक बाहेकका गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रभावित हुने उल्लेख गरेका छन् । ताप्लेजुङका नौ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिकाले गएको बिहीबार र सिरिजंघा गाउँपालिकाले आइतबार आगामी आगामी आवका लागि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरी सकेका छन् ।
सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँ र सिरिजंघा गाउँपालिकाले ५८ करोड ७५ लाख आठ हजार ८६३ रुपियाँको बजेट सार्वजनिक गरेको छ । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले मंगलबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका बुझिएको छ ।

Similar Posts